माओवादी केन्द्रको बैठक सर्याे, दिउँसो २ बजेदेखि सुरु हुने
काठमाडौं, फागुन २२ : नेकपा माओवादी केन्द्रको केन्द्रीय समय बैठकको समय सरेको छ। बिहान ११ बजेबाट हुने भनिएको बैठक आइतबार दिउँसो २ बजेदेखि मात्र...
काठमाडौं, फागुन २२ : नेकपा माओवादी केन्द्रको केन्द्रीय समय बैठकको समय सरेको छ। बिहान ११ बजेबाट हुने भनिएको बैठक आइतबार दिउँसो २ बजेदेखि मात्र सुरु हुने माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका छन्।
आजको बैठक बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा हुने मुख्यसचिव ढकालले जानकारी दिएका छन्। आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीबारे उठेका प्रश्नको जवाफ दिएपछि एजेण्डामा छलफल हुनेछ।
राष्ट्रिय महाधिवेशन भएको लामो समय बितिसक्दा पनि माओवादीका केन्द्रीय पदाधिकारी चयन भएका छन्। आजको बैठकबाट केन्द्रीय पदाधिकारी चयन गर्ने तयारी छ। यसका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक छलफल गरिरहेका छन्।
यसअघि शुक्रबार माओवादी केन्द्रीय समिति बैठक बसेको थियो। पदाधिकारी चयनका लागि गृहकार्य गर्नुपर्ने जनाउँदै शनिबार बैठक बसेको थिएन।
गत पुस ११ गते १८ गतेसम्म चलेको माओवादीको आठौं महाधिवेशनबाट प्रचण्ड अध्यक्ष चयन भएका थिए। त्यस्तै, महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था गरेको थियो।
यससँगै १५ सदस्यीय पदाधिकारी रहने गरी विधान संशोधन गरेको थियो। जसअनुसार, एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछन्।











