आज प्रतिनिधिसभाको बैठक, के होला महाअभियोग प्रस्ताव?
काठमाडौं, फागुन २२ : प्रतिनिधिसभाको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बस्दै छ।सभामुख अग्निप्रसाद सापकोटाले आज दिउसो १ बजे बैठक बोलाएका हुन्।...
काठमाडौं, फागुन २२ : प्रतिनिधिसभाको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बस्दै छ।
सभामुख अग्निप्रसाद सापकोटाले आज दिउसो १ बजे बैठक बोलाएका हुन्। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेश गर्न सम्भावित कार्यसूची रहेको छ।
संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गरेको सम्भाविता कार्यसूचीमा प्रतिवेदन पेश गर्ने मात्रै उल्लेख छ। त्यसअघि बस्ने प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक थप कार्यसूची तय गर्न सकिने जनाइएको छ।
अघिल्लो बैठकबाट बाहिरिने क्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताएका थिए।
फागुन १ गते सत्तारुढ दलका सांसदले प्रधान्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। जसमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का ९८ सांसदका् हस्ताक्षर रहेको छ।
त्यसमा अझै छलफल हुन सकेको छैन। अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताको विवादका कारण महाअभियोग प्रस्ताव ओझेलमा परेको थियो। एमसीसी सम्झौता फागुन १५ गते अनुमोदन भइसकेको छ।











