गय् भिंद्यो हनुमन्त्ते पुलको उद्घाटन
भक्तपुर, फागुन २१ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले आज भक्तपुर नगरपालिका–७ स्थित गय् भिंद्यो हनुमन्त्ते पुलको उद्घाटन गरेका छन। भक्तपुर नगरपालिकाले आज आयोजना गरेको पुल उद्घाटन कार्यक्रममा पुल उद्घाटन गरेसँगै शिलापत्र अनावरण पनि गरे।
नेपालमा विदेशीसँग मागेर देश विकास गर्ने गलत प्रवृत्ति हाबी हुँदै गएको बताउँदै अध्यक्ष बिजुक्छेँले देश विकासका आफ्नै स्रोत साधनको परिचालन गर्नुपर्नेमा जोड दिए। भक्तपुर नगरपालिकाले आफ्नै स्रोत र साधनबाट सम्पदा संरक्षण तथा विकास निर्माणमा पारदर्शीरूपमा गरेको काम उल्लेखनीय भएको बताउँदै उनले भक्तपुरका जनप्रतिनिधिको सक्रियता र इमान्दारिताले गर्दा भक्तपुर आज देशकै नमूना नगरका रूपमा विकसित भएको हो चर्चा गरे।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिबाट विकास निर्माणको काम गर्ने भक्तपुर नपाको पहिलेदेखिको परम्परा भएको भन्दै भक्तपुर नपाले सार्वजनिक सम्पत्ति संरक्षणमा जोड दिँदै आएको बताए।
नगरपालिकाको अगुवाइ र स्थानीय जनताको सहभागितामा निर्मित भक्तपुरकै ठूलो गय् भिंद्यो पुल निर्माणबाट स्थानीय जनताको आवागमनमा समेत सहज भएको र पुल निर्माणसँगै यस ठाउँको आकर्षण बढेको उनको भनाइ छ।
कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष उकेश कवां, वडा नं ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य, आदर्श आजाद माविका प्रअ तथा पूर्ववडाध्यक्ष श्रीकृष्ण किसीलगायतले यो पुल निर्माणसँगै ५ र ७ वडा जोड्ने गय् भिंद्यो पुल निर्माणले आवातजावतमा सहज बनाएको बताउँदै नगरभित्र प्रवेश गर्ने भारी सवारीसाधनमा रोक लगाउनुपर्ने बताए।
कार्यक्रममा पुल निर्माण उद्घाटन उपभोक्ता समितिका कोषाध्यक्ष नारायणप्रसाद कवांले पाँच चरणमा उपभोक्ता समितिबाट निर्माण भएको पुल भक्तपुर नपाको रु तीन करोड दुई लाख ४४ हजार ९६४ र बागमती प्रदेश सरकारको रु एक करोड गरी कूल रु चार करोड दुई लाख ४४ हजार ९६४ को लागतमा निर्माण सम्पन्न भएको बताए।