राष्ट्रिय सभाका १९ सांसदले आज शपथ लिँदै
काठमाडौं, फागुन २१: राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्।आज बिहान ११ बजे सिंहदरबारस्थित कानून, न्याय तथा मानव...
काठमाडौं, फागुन २१: राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्।
आज बिहान ११ बजे सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको कार्यकक्षमा शपथ ग्रहरण कार्यक्रम राखिएको संघीय संसद् सचिवालयले जनाएको छ।
गत माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन भएको थियो। जसमा नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का पाँचपाँच तथा नेकपा (एमाले), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक एक जना निर्वाचित भएका छन्।
कांग्रेसबाट नारायणदत्त मिश्र, ध्रुवराज शर्मा, दुर्गा गुरुङ, कमला पन्त, कृष्णप्रसाद पौडेल र गोपालकुमार बस्नेत छन्। माओवादीबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेशकुमार आले मगर, नरबहादुर विष्ट र जगतबहादुर कार्की छन्।
यस्तै, एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाहले शपथ ग्रहण लिँदै छन्। जसपाबाट मोहम्मद खालिद, एमालेका सोनाम गेल्जेन शेर्पा र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले शपथ लिने कार्यक्रम छ।
सरकारको सिफारिशमा एक जना सांसद राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था रहेको छ। मनोनित गर्न बाँकी छ।
उनीहरुको कार्यकाल चार वर्षको हुनेछ। चार वर्षे कार्यकाल भएका २० सांसदको शुक्रबार पदावधि सकिएको छ।











