अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध 'महाअभियोग छानबिन’को घोषणा
न्यूयोर्क, असोज ८ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनबाट राजनीतिक सहायता खोजेको भन्दै उनीबिरुद्ध औपचारिक रुपमा महाअभियोग अनुसन्धान खुल्ला गर....

न्यूयोर्क, असोज ८ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनबाट राजनीतिक सहायता खोजेको भन्दै उनीबिरुद्ध औपचारिक रुपमा महाअभियोग अनुसन्धान खुल्ला गरिएको छ।
अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति डोनल्ड ट्रम्पविरूद्ध महाअभियोगन लगाउने बाटो औपचारिक रूपमा खुल्ला गरिएको घोषणा गरेकी हुन्।
मंगलबार अपरान्ह क्यापिटल हिलबाट उनले राष्ट्रपति ट्रम्पले संविधानको उलंघन गर्दै राष्ट्रका लागि घात गरेका यथेष्ट प्रमाणहरू भेटिएको भन्दै संसद उनीमाथि महाअभियोगको प्रस्ताव अगाडि बढाउने निर्णयमा पुगेको बताइन्।
उनले अमेरिकी संविधानले व्यवस्था गरेको शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तलाई अस्वीकार गर्दै राष्ट्रपति ट्रम्पले आफूले जे गरे पनि हुन्छ भन्नु नै महाअभियोगका लागि पर्याप्त आधार भएको बताइन्।
पेलोसीले संसदका सबै समितिहरूलाई महाअभियोगको लागि औपचारिक रूपमा छानबिनका लागि निर्देशन दिएकी छिन्।
यसैबिच, सभामुख न्यान्सी पेलोसीको यो घोषणालाई राष्ट्रपति ट्रम्पले हाँस्यास्पद भएको बताएका छन् । उनले आफूले अमेरिकाका लागि राम्रो गरिरहेको बताउँदै यो निर्णय दुर्भाग्यपूर्ण भएको बताए ।
ट्रम्प संयुक्त राष्ट्र संघको महासभामा सहाभागी हुन न्युयोर्कमा रहेको बेला वासिङटन डीसीमा यस्तो घोषणा गरिएको हो।












