Kathmandu Press

मागभन्दा पाँच गुणा बढी सुपारी आयात

काठमाडाैं, फागुन २० : राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिमा तेस्रो मुलुकबाट आयात हुने सुपारीको व्यापारमा भइरहेको नीतिगत व्यवस्थाका बारेमा अध्ययन गर्न गठित...
मागभन्दा पाँच गुणा बढी सुपारी आयात

काठमाडाैं, फागुन २० : राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिमा तेस्रो मुलुकबाट आयात हुने सुपारीको व्यापारमा भइरहेको नीतिगत व्यवस्थाका बारेमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन पेश गरिएको छ।

उपसमिति संयोजक सांसद रमेशजङ्ग रायमाझीले आज समिति सभापति तारादेवी भट्टलाई प्रतिवेदन पेश गरेका हुन। प्रतिवेदनका विषयमा समितिको आगामी बैठकमा छलफल गरी सरकारका सरोकार भएका निकायलाई निर्देशन दिइने उनले जानकारी दिए।

सुपारीसँग सम्बन्धित गुट्खा उद्योगले पाँच हजार मेट्रिकटन सुपारी भए पुग्छ भन्ने गरेकामा सरकारले २५ हजार मेट्रिकटन आयात गर्न दिएको संयोजक रायमाझीले जानकारी दिए। यस विषयमा समितिले केही सचिव र सुपारी आयातकर्तालाई बैठकमा बोलाएकामा अनुपस्थित भएको उनले बताए।

व्यवसायीको प्रभावमा परेर सरकारले देशमा आवश्यकताभन्दा बढी सुपारी आयात गर्न दिएको उपसमितिको प्रतिवेदनमा उल्लेख छ। आयात भएको सुपारी भारत जाने गरेको पनि सांसद रायमाझीले बैठकमा सुनाए। यस विषयमा छलफल गर्न बैठकमा बोलाउँदा भन्सार विभागका महानिर्देशक पनि सरकारको निर्देशन पालना गर्नुपर्ने भन्दै नआएको उनले समिति बैठकमा जानकारी गराए।

सभापतिसहित चार सांसदको बिदाइ

समितिको आजको बैठकमा आजदेखि चार वर्षे कार्यकाल पूरा गर्न लागेका सभापति भट्ट, सांसदहरू दीनानाथ शर्मा, कविता बोगटी र चक्रप्रसाद स्नेहीलाई बिदाइसमेत गरिएको छ।

बिदाइ कार्यक्रममा सांसद गङ्गाकुमारी बेल्वासे, स्नेही, नन्दा चापागाइँ, बिमला घिमिरे, शारदादेवी भट्ट, महेशकुमार महरा र बोगटीले चार वर्षे कार्यकालमा समितिले दिएका धेरै निर्देशन सरकारले कार्यान्वयन नगरेको, कोभिडका कारण समितिको वार्षिक कार्ययोजना पूरा हुन नसकेको विषयमा सरोकार भएका निकायको ध्यानाकर्षण गराए।

बैठकमा सभापति भट्टले समिति सचिवालयले दिएका निर्देशन कार्यान्वयन भए/नभएको नियमितरूपमा पछ्याउने विश्वास व्यक्त गरे। सभापति कार्यकालको अन्तिम बैठकमा उनले चार वर्षसम्म कार्यसम्पादनमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए।

प्रकाशित मिति: १८:२२ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्