सवारीसाधनलाई प्रदेश २ छिचोल्न पाँच घण्टा २५ मिनेटको समयसीमा
वीरगञ्ज, असोज ७ : सवारीसाधनलाई प्रदेश नं २ को ८ जिल्ला छिचोल्न पाँच घण्टा २५ मिनेटको समयसीमा तोकिएको छ।
आर्थिक वर्ष २०७६-०७७ को स....
वीरगञ्ज, असोज ७ : सवारीसाधनलाई प्रदेश नं २ को ८ जिल्ला छिचोल्न पाँच घण्टा २५ मिनेटको समयसीमा तोकिएको छ।
आर्थिक वर्ष २०७६-०७७ को साउन महीनामा मात्र ९२ वटा सवारी दुर्घटना भएकोमा ४५ जनाले ज्यान गुमाएपछि प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले यस्तो समयसीमा तोकी ‘टाइमकार्ड’ लागू गरेको हो।
समयसीमा तोकिएपछि पश्चिमबाट पूर्वतर्फ जाने तथा पूर्वबाट पश्चिमतर्फ आउने सवारीसाधनले प्रदेश २ का ८ जिल्लाको २२५ किलोमिटरको बाटो पाँच घण्टा २५ मिनेटभित्र पार गरी सक्नुपर्ने नियम लागू भएको ट्राफिक प्रहरी निरीक्षक राजकुमार सिंहले जानकारी दिए।
प्रदेश नं २ को पथलैयादेखि पूर्वको भारदहसम्म २२५ किलोमिटर तय गर्दा चालक तथा यात्रुलाई सहज होस् भनेर प्रदेश नं २ को मध्य भाग लालगढमा ट्राफिक प्रहरीले बनाएको विश्रामस्थलमा १० मिनेट रोक्न सक्ने व्यवस्थासमेत मिलाइएको छ। त्यहाँ यात्रुका लागि खानपान, शौचालय, स्नानगृहसमेतको व्यवस्था मिलाइएको बताइएको छ।
कुनै सवारीसाधन अत्यधिक गतिमा तोकिएको समयभन्दा चाँडै गएमा त्यस्तो सवारीसाधनलाई कारवाहीसमेत गरिने जनाइएको छ। ‘हाम्रो अभियान सहज र सुरक्षित ट्राफिक व्यवस्थापन’ भन्ने नाराका साथ लागू गरिएको टाइमकार्डका कारण सवारी दुर्घटनामा कमी आउने विश्वास लिइएको छ।
आर्थिक वर्ष २०७५–०७६ मा एक हजार ३५२ वटा सवारी दुर्घटनामा परी ४९६ जनाले ज्यान गुमाएका थिए भने ६५६ सख्त घाइते र ९१४ सामान्य घाइते भएका थिए। सोही आर्थिक वर्षमा ६१ हजार ३७० सवारीसाधनलाई कारवाही गरी एक करोड ९१ लाख आठ हजार रुपैयाँ जरिवानाबापत असुल गरिएको थियो। रासस