स्थानीय निर्वाचनको तयारीमा जुट्न गगन थापाको आग्रह
काठमाडौं, फागुन २० : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। कास्कीमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री...
काठमाडौं, फागुन २० : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।
कास्कीमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भइसकेकाले सक्रिय रुपमा निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका हुन्।
उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरुबीच तालमेल हुने वा नहुने भन्ने विषयको टुंगो पार्टीले छलफलबाट निष्कर्श निकाल्ने बताए। घोषणा भइसकेको निर्वाचन नसर्ने पनि थापाको दाबी छ।
उनले कुनै नेताको भाषण र अन्तर्वाता हेरेर धारणा नबनाउन पनि आग्रह गरेका छन्। स्थानीय तहको निर्वाचन लगत्तै मंसिर वा त्योभन्दा अगाडि नै आम निर्वाचन हुनेपनि उनले बताए। आम निर्वाचनपछि संसदलाई विनाअवरोध सुचारु गर्ने पक्षमा आफूहरु रहेको उनले बताए।
उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसद अवरोध नगर्न पनि आग्रह गरे। केपी ओलीकै घरमा पुगेर हात जोड्दा पनि अवरोध अझै नखुलाइएको बताए। स्थानीय तहको निर्वाचनसम्म पनि संसद अवरोध नखुलेको अवस्थामा विभिन्न विकल्पहरु रहेको समेत उनले बताए।











