Kathmandu Press

पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आग्रह

काठमाडौं, फागुन २० : राष्ट्रिय मानवअधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह...
पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आग्रह

काठमाडौं, फागुन २० : राष्ट्रिय मानवअधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ।

अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुनसक्ने आयोगले जनाएको छ।

‘गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ,’ आयोगका सहायक प्रवक्ता लोकनाथ वास्तोलाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘गम्भीर प्रकृतिको फौजदारी अपराधको अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गरी पक्ष र विपक्षमा समाचार सम्प्रेषण नगर्न, सम्बन्धित व्यक्तिको अनुमतिबिना भिडियोहरु रेकर्ड नगर्न, रेकर्ड गरिएका भिडियोहरु सार्वजनिक नगर्न र अतिप्रचारका कारण प्रमाणहरु नष्ट हुनेतर्फ विचार पुर्‍याउनुपर्दछ।’       

गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्तअनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्ने र अधिकार प्राप्त निकायबाट अनुसन्धान प्रक्रिया चलिरहँदा आरोपका पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्नाले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुने सम्भावना भएको आयोगले जनाएको छ। यस सम्बन्धमा आयोगले अनुगमन तथा सूचना संकलन गरिरहेको जनाएको छ।

यस प्रकारका गतिविधिले नेपालको संविधानको धारा २८ को गोपनीयताको हक र धारा २० मा उल्लेखित न्यायसम्बन्धी हक, मुलुकी फौजदारी संहिताको दफा २९८, मानवअधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १२ र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा १७ मा व्यवस्था भएको गोपनीयताको अधिकारसमेत प्रभावित भएको देखिन्छ।

प्रकाशित मिति: १३:४९ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्