नयाँबजारको फारमेसीमा लुटपाट गर्ने गिरोह पक्राउ
काठमाडौं, फागुन २० : राजधानीको नयाँबजारस्थित समृद्ध फार्मेसीमा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। फागुन १२ गते साँझ साढे सात बजे ८ जनाको...
काठमाडौं, फागुन २० : राजधानीको नयाँबजारस्थित समृद्ध फार्मेसीमा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। फागुन १२ गते साँझ साढे सात बजे ८ जनाको समूहले राजेन्द्र साँखीले सञ्चालन गर्दै आएका फार्मेसीमा लुटपाट गरेका थिए। लुटपाटमा संलग्न आठै जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा जुम्लाका २६ वर्षीय देवीप्रसाद धिताल, धादिङका ३० वर्षीय शङ्कर रेग्मी, डडेल्धुराका २८ वर्षीय हिक्मत महता, कञ्चनपुरका २७ वर्षीय सुवास रतोकी, कञ्चनपुरकै ३४ वर्षीय मिलन बोहरा, पाँचथरका ३२ वर्षीय भविन्द्र बेगा, दैलेखका २७ वर्षीय योगेन्द्रबहादुर चन्द र प्युठानका २१ वर्षीय कमल सुनार छन् ।
पक्राउ परेका उनीहरुले पसल सञ्चालकलाई नियन्त्रणमा लिएर पसलको काउण्टरमा भएको नगद, सामसुङ मोबाइल, घडीलगायतका सामग्री लुटेर फरार भएका थिए।

८ जनाको समूहमा आएका समूहले आफूहरु प्रहरी भएको र पसलमा अवैध औषधी विक्री वितरण गर्ने पाइएको भन्दै खानतलासी गर्नुपर्ने बताएका थिए। त्यसपछि उनीहरुले साँखीलाई नियन्त्रणमा लिएर नगदसहित विभिन्न बैंकबाट इसेवामा पठाएको रकमसहित कुल ६५ हजार लुटपाट गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेकासँग प्रहरीले ११ थान मोबाइल, एक घडी, नागरिकता प्रमाणपत्र, पाँच एटिएम र दुई चेक बरामद गरेको महाशाखाले जनाएको छ।











