केन्द्रीय कमिटीको बैठकका लागि राष्ट्रिय सभागृह पुगे प्रचण्ड

काठमाडौं, फागुन १९ : माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय सभागृह पुगेका छन्।
आज (शुक्रबार) सुरु हुने केन्द्रीय कमिटीको बैठकका लागि उनी सभागृह पुगेका हुन्। बिहान ११ बजेका लागि बोलाइएको बैठक एजेन्डाका लागि गरिएको आन्तरिक छलफलका कारण ढिला भएपछि १ बजेका लागि सारिएको थियो।
बैठक पार्टीका पदाधिकारी चयनमा केन्द्रित हुने बताइएको छ। पुसमा सम्पन्न महाधिवेशनले पार्टीको केन्द्रीय बमिटी चयन गरेको थियो। सोही महाधिवेशनले पदाधिकारी चयनको जिम्मेवारी केन्द्रीय कमिटीको पहिलो बैठकलाइृ दिए पनि अध्यक्षबाहेक अन्य पदाधिकारी चयन हुन बाँकी छ। खासगरी महासचिव पदमा कसलाई जिम्मेवारी दिने भन्ने विषय टुंगो नलाग्दा पदाधिकारी चयनले पूर्णता पाउन नसकेको जनाइएको छ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विषयले पनि आजको बैठक पेचिलो बन्ने आकलन गरिएको छ। यथास्थितिमा एमसिसी पारित गर्न नहुने भनिए पनि अध्यक्ष प्रचण्डले अन्तिम समयमा आएर व्यख्यात्मक घोषणासहित अनुमोदन गर्न सकिनेमा सहमति जनाएपछि माओवादी केन्द्रका धेरै नेताहरू असन्तुष्ट बनेका छन्।
पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको अगुवाइमा केही दिनयता भइरहेको छलफलमा पार्टीबाट अलग हुनेसम्मको आवाज उठेपछि केन्द्रीय कमिटीको बैठकमा लिखित असहमति दर्ज गराएर त्यसमाछि छलफल गर्ने बताइएको छ।
बैठकमा असन्तुष्ट समूहले अध्यक्ष प्रचण्डको कमजोरी देखाउँदै आफ्नो भनाइ राख्ने तयारी गरेको स्रोतको भनाइ छ।











