माओवादीको केन्द्रीय कमिटी बैठक : नारायणकाजी समूहले लिखित असहमति पेस गर्ने
पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीलाई पूर्णता दिने एजेण्डा रहेपनि एमसिसी अनुमोदन भएपछि रुष्ट बनेका नारायणकाजी श्रेष्ठसहितका नेताहरुले बैठकमा लिखित असन्तुष्टि पेस गर्ने भएका छन्।
काठमाडौं, फागुन २० : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक दिउँसो १ बजेपछि मात्रै सुरू हुने भएको छ। यसअघि ११ बजेबाट सुरु हुने भनिएको बैठक २ घण्टा ढिला गरि सुरु हुने बताइएको छ।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बैठक १ बजेपछि मात्र बस्ने काठमाडौं प्रेसलाई जानकारी दिए। केही तयारी पूरा हुन बाँकी छन्, त्यसैले थोरै ढिला हुने भएको हो,’ उनले भने।
महराले पार्टीमा पछिल्लो समय देखिएको असुन्तुष्टिका बारेमा पनि केन्द्रीय कमिटीमा छलफल हुने बताए। ‘असन्तुष्ठ साथीहरुले बैठकमा रिपोर्टिङ गर्नुहुन्छ, त्यसमाथि छलफल हुन्छ,’ महराले भने।
विशेषगरी, एमसिसी संसदबाट अनुमोदन भएको विषयलाई लिएर माओवादी केन्द्रमा दुई पक्ष देखिएको छ। प्रचण्डबाहेकका शीर्ष नेताहरु नै एमसिसी अनुमोदन गरेप्रति पार्टीभित्र असन्तुष्ठ बनेका छन्। महरासहित नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ, लीलामणी पोखरेल, गिरिराजमणी पोखरेल लगायतका नेताहरु असन्तुष्ट बनेका छन्।
उनीहरले आजको केन्द्रीय कमिटी बैठकमा आफ्ना असन्तुष्टि लिखित रुपमा राख्ने तयारी गरेका छन्। असन्तुष्ट पक्षले राख्ने विषयमा छलफल भएपछि मात्रै एजेण्डामा प्रवेश हुने महराले जानकारी दिएका छन्। ‘सम्भवत ः भोलिदेखि मात्र केन्द्रीय कमिटी बैठक एजेण्डामा प्रवेश गर्ला,’ उनले भने।
केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन गर्ने एजेण्डा छ। त्यस्तै स्थायी कमिटी, पोलिब्यूरो र बाँकी रहेको केन्द्रीय कमिटीलाई पनि बैठकबाट पूर्णता दिइने भनिएको छ।
पार्टीभित्र सिर्जना भएको आन्तरिक विवादले पदाधिकारी चयनमा प्रत्यक्ष प्रभाव पार्ने पनि देखिएको छ। पदाधिकारीमध्य महासचिव पदका लागि सबैभन्दा चर्को विवाद रहेको छ। वर्षमान पुन र जनार्दन शर्माले महासचिव दावी गरेपछि अन्य नेताहरु देव गुरुङ, शक्तिबहादुर बस्नेत र पम्फा भुसाल समेत महासचिव बन्ने दौडमा छन्।
महासचिवमा सर्वसम्मत नभए निर्वाचन गरेर टुंगो लगाइने छ। महाधिवेशनबाट चयन भएका केन्द्रीय सदस्यहरुले नै पदाधिकारी चयनका लागि मतदान गर्नेछन्।











