पत्रकार पाण्डेको रिहाइका लागि महासंघले गरायो सरकारको ध्यानाकर्षण
काठमाडौं, फागुन २० : युएईमा पक्राउ परेका पत्रकार उमाकान्त पाण्डेको रिहाइका लागि नेपाल पत्रकार महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।महासंघका अध्यक्ष विपुल पोखरेल, महासचिव...
काठमाडौं, फागुन २० : युएईमा पक्राउ परेका पत्रकार उमाकान्त पाण्डेको रिहाइका लागि नेपाल पत्रकार महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।
महासंघका अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरीलगायतको टिमले बिहीवार परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटी पत्रकार पाण्डेको रिहाइका लागि पहल गर्न ध्यानाकर्षण गराएको हो ।
वैदेशिक रोजगारीका सिलसिलामा युएई रहेर उज्यालो रेडियो नेर्टवर्कमा कार्यरत पत्रकार पाण्डेलाई नेपालमा रहँदा सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसलाई लिएर युएई प्रहरीले पक्राउ गरेको हो। पाण्डेविरुद्ध त्यहाँको अदालतमा मुद्दा चलेको छ। महासंघले अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत पत्रकार पाण्डेले सामाजिक सञ्जालमा लेखेकै आधारमा पक्राउ गरी मुद्दा चलाइएको भन्दै त्यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भनेको छ।
जवाफमा मन्त्री खड्काले पत्रकार पाण्डेको अवस्थाबारे बुझेर दुतावासमार्फत् रिहाइका लागि पहल गर्ने आश्वासन दिएको महासंघले जनाएको छ।
पत्रकार पाण्डेलाई नेपालमा रहँदा जनवरी ७ अर्थात् पुस २३ गते सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासको संलग्नता रहेको भन्ने आशयमा लेखिएको स्ट्याटसलाई लिएर युएई प्रहरीले पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाएको हो। हाल पाण्डे युएई जेलमा छन्।
उनीविरुद्ध दुबई अदालतले मंगलबार मात्रै तीन महिना कैद र करिब आठ लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ।











