देशभक्त एक हुने र मोर्चा बनाउने विषय सकारात्मक : भीम रावल
काठमाडाैं, फागुन १९ : एमाले नेता भीम रावलले स्वाधीनताका लागि सबै देशभक्त एक हुने र मोर्चा बनाउने विषय सकारात्मक रहेको बताएका छन्।बिहीबार काठमाडौंमा...
काठमाडाैं, फागुन १९ : एमाले नेता भीम रावलले स्वाधीनताका लागि सबै देशभक्त एक हुने र मोर्चा बनाउने विषय सकारात्मक रहेको बताएका छन्।
बिहीबार काठमाडौंमा नेकपा एमाले अछाम काठमाडौं सम्पर्क मञ्चको ११औं सम्मेलन उद्घाटन गर्दै रावलले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग भेटवार्ता भएको र सबै देशभक्त एक हुने र मोर्चा बनाउने उनीहरुको प्रस्ताव सकारात्मक रहेको बताएका हुन्।
देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने उनले बताए। त्यस्तै उनले राष्ट्रघाती एमसिसी पारित गर्ने दलहरुका नेतालाई जनताले आगामी चुनावमा तह लाउनुपर्नेसमेत बताए।
उनले एमसीसी पारित भएसंगै नेपालको आत्मनिर्णयको अधिकारमाथि गम्भीर धक्का लागेको धारणा राखे। रावलले मुलुकको हितमा बोल्दा कसैले हिरो भन्नु स्वाभाविक रहेको उल्लेख गरे। राष्ट्रघाती विषयमा मात्र आफूले बोलेको भन्दै उनले पार्टीको हितविपरीत कहि कतै नबाेलेको तर्क गरे।
त्यस्तै रावलले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय हस्तक्षेप ढाकछोप गर्न सरकारले चीनले सीमा मिचेको भनेर प्रचार गरेको आशंका व्यक्त गरे। कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो।












