खुमलटार भेटवार्ता : पार्टीबाट अलग नहुन नारायणकाजीलाई प्रचण्डको आग्रह
काठमाडौं, फागुन १८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ। प्रचण्डनिवास खुमलटारमा बिहीबार बिहान भएको भेटवार्तामा...
काठमाडौं, फागुन १८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ। प्रचण्डनिवास खुमलटारमा बिहीबार बिहान भएको भेटवार्तामा पार्टी एकता कायमै राख्ने विषयमा छलफल भएपनि निष्कर्षविहीन बनेको खुमलटार स्रोतले जनाएको छ।
संसदबाट एमसिसी अनुमोदन भएपछि प्रचण्ड र नेता नारायणकाजीको दूरी बढेको थियो। एमसिसी अनुमोदन गर्ने विषय पार्टीको निर्णय नभई प्रचण्डको एकल निर्णय भएको ठहर गर्दै श्रेष्ठसहित आधा दर्जन प्रभावशाली नेताहरु प्रचण्डको विरुद्धमा उभिएका छन्।
श्रेष्ठसहित नेताहरु कृष्णबहादुर महरा, लीलामणी पोखरेल, गिरिराजमणी पोखरेल लगायत अन्य थुप्रै नेताहरु प्रचण्डसँग चिढिएका छन्। यसबीचमा पार्टी विभाजनदेखि विप्लवसँग एकता गर्ने विषय समेत चर्चामा आएको छ। नारायणकाजीले बुधबार नै विप्लवसँग भेटवार्ता समेत गरेका थिए। भेटमा प्रचण्डको विकल्प खोज्ने विषयमा छलफल भएको थियो।
नारायणकाजीलाइ लक्षित गरी प्रचण्डले पार्टीमा असन्तुष्ठहरु पार्टी छाडेर जान सक्ने सार्वजनिक अभिव्यक्ति दिएपछि आन्तरिक विवाद उत्कर्षमा पुगेको हो। विवाद मिलाउनका लागि प्रचण्डले लगातार श्रेष्ठसँग छलफल गरेपनि सहमति भने जुट्न सकेको छैन।











