पार्टीमा जिम्मेवारी लिएको अवस्थामा प्रेस युनियनको पद स्वतः रिक्त (सर्कुलरसहित)
काठमाडौं, फागुन १९ : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको पदाधिकारी वा सदस्यले पार्टीमा जिम्मेवारी लिएको अवस्थामा स्वतः युनियनको पद रिक्त भएको छ...
काठमाडौं, फागुन १९ : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको पदाधिकारी वा सदस्यले पार्टीमा जिम्मेवारी लिएको अवस्थामा स्वतः युनियनको पद रिक्त भएको छ ।
बुधबार केन्द्रीय समितिले देशैभर मातहतका शाखालाई सर्कुलर जारी गर्दै पार्टीमा जिम्मेवारी पाएका पदाधिकारी एवं सदस्यहरुको पद स्वतः रिक्त भएको जनाएको हो ।
पार्टीको विधानको दफा ४२ उपदफा २ ग मा शुभेच्छुक संस्थाको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनैपनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भएमा निजको शुभेच्छुक संस्थाको पद स्वतः रिक्त हुने प्रावधान छ ।
निर्देशन जारी गर्दै युनियन केन्द्रीय समितिले भनेको छ, ‘१४ औं महाधिवेशन अन्तर्गत पार्टीको कुनैपनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भएका नेपाल प्रेस युनियनका पदाधिकारी वा सदस्यको पद स्वतः रिक्त भएकाले सोहीबमोजिम गर्नरगराउन निर्देशन गरिन्छ ।’
रिक्त पदमा कार्यवाहक दिँदा सम्बन्धित रिक्त पदमुनिका सबैभन्दा बरिष्ठतम् पदले अनिवार्य रुपमा जिम्मेवारी पाउने गरी व्यवस्था गर्न कावा महासचिव भीष्मराज ओझाले सर्कुलर जारी गरेका छन् ।











