नेपालसहित १४१ देशले गरे युक्रेनको पक्षमा मतदान

काठमाडौं, फागुन १९ : रुसी आक्रमणविरुद्ध संयुक्त राष्ट्रसंघमा नेपालसहित १४१ देश युक्रेनको पक्षमा मतदान गरेका छन्।
गएराति संयुक्त राष्ट्रसंघको विशेष महासभामा भएको मतदानमा नेपालले पनि युक्रेनको पक्षमा मतदान गरेको हो। छिमेकी भारत र चीन भने मतदानमा अनुपस्थित रहे।
एक सातादेखि रुसले युक्रेनमाथि आक्रमण गरिरहेको छ। त्यसको विरोध गर्दै राष्ट्रसंघले प्रस्ताव पारित गरेको हो। राष्ट्रसंघले लडाइ रोक्न र युक्रेनबाट आफ्ना सैनिक फिर्ता लग्न माग गर्दै प्रस्ताव पारित गरेको हो।
नेपाल यो प्रस्तावको पक्षमा उभिएको हो। नेपाल सहित १४१ देशले यो प्रस्तावको पक्षममा मतदान गरेका हुन्।
रुसको पक्षमा पाँच देश मात्रै उभिए। रुससँगै उत्तर कोरिया, सिरिया, बेलारूस र इरिट्रियाले यो प्रस्तावको विपक्षमा मतदान गरेका छन्।
चीन र भारतसहित ३५ देश भने मतदानमा सहभागी भएनन्। उनीहरुले यसमा अनुपस्थित रहे।
यसअघि राष्ट्रसंघको सुरक्षा परिषद्ले प्रस्ताव पारित गर्न खोज्दा रुसले भिटो प्रयोग गरेको थियो। जसले गर्दा महासभा बोलाइएको थियो।
राष्ट्रसंघको महासभाले पारित गरेको प्रस्ताव बाध्यकारी हुँदैन। तर, रुसलाई कूटनीतिक रुपमा भने यसले रुसलाई संसारबाट एक्लाएको छ।
रुसी आक्रमणको नेपालले शुरुआतदेखि नै विरोध गर्दै आएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी शुरुआतमै विरोध जनाएको छ।












