एमसीसी परियोजनाको सफल कार्यन्वयनबाट आर्थिक विकास

काठमाडौं, फागुन १८ : नेपाल चेम्बर अफ कमर्सले मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसीसंगको परियोजना सम्झौतालाई प्रभावकारी कार्यन्वयन गर्न आग्रह गरेको छ ।
प्रतिनिधिसभाबाट अनुमोदन भईसकेको सो सहयोग सम्झौतालाई एमसीसीको मुख्यालयले पनि स्वीकार गरिसकेकाले अव कार्यान्वयन पाटो चुस्त बनाउन चेम्बरले आग्रह गरेको हो ।
प्रशारण लाइन निर्माणले मुलुकको बिद्युत व्यापारलाइ टेवा प्रदान गर्ने हुँदा उर्जा क्षेत्रमा लगानी वढ्ने आशा राखेको र सडक पूर्वाधारको स्तरोन्नतीले व्यापारमा सहजीकरण ल्याउने भएकाले परियोजना कार्यान्वयनमा ल्याउन चेम्बरले आग्रह गरेको हो ।
५० करोड अमेरिकी डलर र नेपाल सरकारले १३ करोड डलर लगानी गर्ने परियोजनाको सफल कार्यन्वयनबाट आगमी पाँच वर्षमा नमुना विकासको आधार प्रस्तुत हुनुपर्ने चेम्बरको भनाई छ ।
एमसीसी परियोजना अन्तरर्गत निर्माण हुने ४ सय केभी क्षमताकोशंखरापुर लप्सेफेदी लप्सेफेदी–रातामाटे, रातामाटे–हेटौंडा,दमौली–बुटवल प्रसारण लाइन र सवस्टेसन निर्माणबाट मुलुकको आन्तरिक विद्युत प्रणाली र अन्तरदेशीय विद्युत व्यापारका लागि कोशेढुङ्गा सावित हुने अध्यक्ष राजेन्द्र मल्लले बताए ।
५० करोड डलर बराबरको सो आर्थिक परियोजना मुलुकको विकास तथा रोजगारी सिर्जनाका लागि महत्वपुर्ण आधार हुने अध्यक्ष मल्लको भनाई छ । चेम्बर अफ कमर्सले वुधबार विज्ञप्ति जारी गर्दै एमसीसी परियोजना कार्यन्वयनमा सरकार र सरोकारवाला हातेमालो गरेर अघि वढ्नुपर्नेमा जोड दिएको छ ।राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई समेत समयमै सम्पन्न गर्ने वातावरण बनाउन पनि चेम्बरले आग्रह गरेको छ ।
सम्झौता अनुमोदनले नेपालको विकास प्रतिको प्रतिवद्धताको सन्देश सम्प्रेषण हुने तथा लगानीको वातावरण बनाउन सहयोग पुग्ने अपेक्षा चेम्बरले गरेको छ । कोभिड–१९ महामारीका कारण सुस्त रहेको अर्थतन्त्रलाइ एमसिसी कम्प्याक्ट अनुमोदनद्धारा राहत प्रदान हुने समेत चेम्बरले जनाएकोे छ । आर्थिक विकास, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधार गर्नेतर्फ एमसीसी परियोजना महत्वपुर्ण आधार हुने चेम्बरले विश्वास गरेको छ ।











