कतैबाट प्रभावित नभई काम गर्न धितोपत्र बोर्डलाई अर्थमन्त्रीकाे निर्देशन

काठमाडाैं, फागुन १८ : अर्थमन्त्री जनार्दन शर्माले कतैबाट प्रभावित नभई संस्था र लगानीकर्ताहरुको हितका लागि स्वतन्त्र रुपमा काम गर्न नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई निर्देशन दिएका छन्।
बुधबार अर्थमन्त्रालयमा पूँजी बजारसम्बन्धी छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले पूँजी बजारको शिक्षा सहितको सुरक्षित कारोबार गर्न आवश्यक नीति तयार गर्न सरकार रहेको भन्दै दबाबमा नपरि काम गर्न निर्देशन दिएका हुन्।
त्यस्तै उनले दिनको दिनमै खरिद बिक्री गर्न पाउने र सापटी लिएर पनि सेयर खरिद बिक्री गर्न पाउने व्यवस्था गर्न नेपाल स्टक एक्सचेन्लाजई निर्देशन दिए। शर्माले नेपालमा अझै पनि सेटिङमा सेयर कारोबार र इन्साइडर ट्रेडिङ हाबी भएको भन्दै यसलाई रोक्न निर्देशन दिए। लगानीकर्ताको सुरक्षा गर्नु सरकारको दायित्व भएको भन्दै उनले कार्यमा सबै एक भएर लाग्नुपर्ने धारणा राखे।
हाल सेयर बजारमा ११ लाख सक्रिय लगानीकर्ता र ५० लाख बढी डिम्याट खाता होल्डर रहेको भन्दै अर्थमन्त्री शर्माले लगानीकर्ताको हितका लागि पुँजी बजार विकास गर्नु आजको आवश्यकता रहेको बताए।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले धितोपत्र ऐनलाई समय सापेक्ष बनाउनु पर्ने बताए। केही कानुनमा सुधार गरेर पुँजी बजारको विकासका लागि बोर्डले काम गर्ने उहाको भनाइ छ । उनलेआफ्नै भवन आवश्यक भएको भन्दै सूचना प्राविधिको बलियो प्रणाली बनाउन जरुरी रहेको धारणा राखे।
त्यस्तै हमालले बजारमा हुन सक्ने चलखेल बुझ्न अटोमेटिक प्रणालीको विकास गर्नुपर्ने उल्लेख गरे।











