Kathmandu Press

वीरेन्द्रनगरमा लगाइएको कर्फ्यू हट्यो, प्रदर्शन गर्न रोक

सुर्खेत, फागुन १८ : वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा मंगलबार हटाइएको छ। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताविरुद्ध आन्दोलन उग्र बनेपछि स्थानीय प्रशासनले...
वीरेन्द्रनगरमा लगाइएको कर्फ्यू हट्यो, प्रदर्शन गर्न रोक

सुर्खेत, फागुन १८ :वीरेन्द्रनगरमा लगाइएको कर्फ्यू मंगलबार साँझदेखि हटाइएको छ।

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताविरुद्ध आन्दोलन उग्र बनेपछि स्थानीय प्रशासनले सोमबार कर्फ्यू लगाएको थियो। आज प्रशासनले कर्फ्यू हटाएर केही ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आज साँझ ७ बजेसम्म लगाइएको कर्फ्यूको सट्टा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम संवेदनशील स्थानलाई निषेधित क्षेत्र घोषणा गरेका हुन्। साँझ ७ बजेदेखि लागू हुने गरी वीरेन्द्रनगरका हटियालाइन, हटियाचोक, मङ्गलगढी चोक र एरिचोकलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। ती क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन पाइने छैन।

'कर्फ्यू जारीपछि वीरेन्द्रनगर शान्त नै रह्यो, कर्फ्यूलाई निरन्तरता दिनुपर्ने अवस्था देखिएन,' प्रजिअ रिजालले भन, 'सुरक्षाका दृष्टिकोणले संवेदनशील देखिएका स्थानमा लागू हुने गरी निषेधित क्षेत्र घोषणा गरिएको हो।' आन्दोलनकारीले सुर्खेतका पार्टी कार्यालय र प्रहरी बिट तोडफोडका साथै आगजनीको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको थियो।

प्रशासनले वीरेन्द्रनगर क्षेत्रमा लगाएको कर्फ्यू साँझ ७ बजे सकिएको छ। जिल्ला प्रशासनका अनुसार अर्को आदेश नहुञ्जेल ती क्षेत्रमा नाराजुलुस गर्न निषेध गरिनेछ। निषेधित क्षेत्रमा सभा, जुलुस गर्न ५ जनाभन्दा बढी व्यक्ति समूहमा उपस्थित भएको पाइए स्थानीय प्रशासन ऐनबमोजिम कारबाही गरिने प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: ०६:२२ बजे, बुधबार, फागुन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्