Kathmandu Press

सत्ता गठबन्धनबाट अलग हुने राष्ट्रिय जनमोर्चाकाे घोषणा

काठमाडाैं, फागुन १६ : राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ।राष्ट्रिय जनमोर्चाको आज (सोमबार) बसेको केन्द्रीय सचिवालय बैठकले संसदबाट एमसिसी पारित...
सत्ता गठबन्धनबाट अलग हुने राष्ट्रिय जनमोर्चाकाे घोषणा

काठमाडाैं, फागुन १६ : राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ।

राष्ट्रिय जनमोर्चाको आज (सोमबार) बसेको केन्द्रीय सचिवालय बैठकले संसदबाट एमसिसी पारित गरेकोप्रति असहमति जनाउँदै उक्त घोषणा गरेको हो।

‘पाँचदलीय गठबन्धनभित्रका चार पार्टीले एमसीसीलाई संसदद्वारा पारित गराउन षड्यन्त्र, जालझेल र तिकडम गरेको आरोप जनमोर्चाले लगाएको छ। 

देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताविरुद्ध खडा भएको पाँच दलीय गठबन्धनलाई कायम राखिरहनुपर्ने औचित्य समाप्त भएकाले अलग हुने निर्णय गरिएको जनमोर्चाले बताएको छ।

‘गठबन्धनबाट देशको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर क्षति पुगेकाले त्यसबाट हाम्रो पार्टी आजकै मितिदेखि अलग भएको घोषणा गर्दछौं,’ बैठकपछि जनमोर्चाले भन्यो।

एमसीसीको विरुद्ध सम्पूर्ण नेपाली जनता सडकमा उत्रेको अवस्थामा जलझेल गरेर ध्वनि मतको आधारमा त्यसलाई पारित गरिनु निन्दनीय भएको सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बताए। ‘सरकारको यस प्रकारको तानाशाही तथा निरंकुश प्रवृत्तिको हामी घोर विरोध गर्दछौं,’ उनले भने।

जनमोर्चाको बैठकले एमसिसीबारेको व्याख्यात्मक प्रस्तावलाई समेत औचित्यहीन ठहर गरेको छ। एमसिसीविरुद्ध आफ्ना कार्यकर्तामा देखिएको आक्रोशलाई मत्थर पार्न मात्र माओवादी र एकीकृत समाजवादीले व्याख्यात्मक प्रस्तावमा कथित सहमति जनाएको जनमोर्चाले बताएको छ।

‘अन्तिम अवस्थामा आएर एमसिसी जस्तो राष्ट्रघाती सम्झौता पारित गर्न माओवादी र एकीकृत समाजवादीले खेलेको भूमिकाको समेत हाम्रो पार्टी घोर विरोध तथा भर्त्सना गर्दछ।’ जनमोर्चाले एमालेको भूमिकाप्रति पनि आपत्ति जनाएको छ।

‘राष्ट्रियताजस्तो गम्भीर सवालमा एमालेले देखाएको रमिते गैरजिम्मेवार व्यवहार र प्रकारान्तरले एमसिसीलाई पारित गराउन खेलेको भूमिकाको पनि बैठकले भर्त्सना गरेको छ,’ जनमोर्चाले बताएको छ। 

जनमोर्चाले फागुन १९-२२ सम्म देशव्यापी रूपमा जिल्ला तथा स्थानीय स्तरका विरोधसभाहरु गर्ने पनि जनाएको छ।

प्रकाशित मिति: १५:५५ बजे, सोमबार, फागुन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्