महाशिवरात्रिमा पशुपति क्षेत्र : यस्ताे छ विशेष ट्राफिक व्यवस्थापन योजना
काठमाडौं, फागुन १६ : महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एवं दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरी सहज आवतजावतका प्रबन्धसँगै ट्राफिक व्यवस्थापन मिलाइएको...
काठमाडौं, फागुन १६ : महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एवं दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरी सहज आवतजावतसँगै प्रभावकारी ट्राफिक व्यवस्थापनकाे प्रबन्ध मिलाइएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्व पर्ने दिन फागुन १७ का लागि पशुपतिनाथ क्षेत्रवरपरको ट्राफिक व्यवस्थापन र आवतजावतका प्रबन्ध मिलाएको हो।
‘महाशिवरात्रि पर्व विशेष ट्राफिक व्यवस्थापन योजना’ बमोजिमको सम्पूर्ण तयारी पूरा गरी सो अवधिभर खटिने प्रहरी अधिकृत तथा अन्य खटिने कमान्डरहरुलाई ट्राफिक प्रहरीको भूमिका, ट्राफिक व्यवस्थापन गर्दा भक्तजन तथा दर्शनार्थीसँग गर्ने व्यवहार र पार्किङ क्षेत्रमा गर्नुपर्ने सहजीकरणबारे ट्राफिक महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले ब्रिफिङ गर्नुका साथै आवश्यक निर्देशनसमेत दिएका छन्।
टाढाटाढाबाट भक्तजन आउने हुनाले उनीहरुको सुबिधाका लागि निर्बाध आवतजावतको व्यवस्था मिलाइएको उनले बताए। उनले गौशाला क्षेत्र आसपासमा छुट्टा छुट्टै स्थानमा पार्किङ गर्ने स्थानहरुसमेत तोकिएको जानकारी दिए।
अन्य नियमित दिनझै चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्बाध रुपमा सवारीसाधन चलाउने व्यवस्था मिलाइएको तर भक्तजनको भिडभाड अत्यधिक भई सवारी सञ्चालनमा समस्या हुने अवस्था देखिएमा उक्त रुटमा भक्तजनबाहेकका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाईने महाशाखाका प्रमुख एसएसपी जोशीले बताए।
दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने यातायात सञ्चालन गर्न नसक्ने अबस्था आएमा मित्रपार्क(गौशाला(तिलगंगा क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गबाट सवारी सञ्चालनको व्यवस्था मिलाईने समेत एसएसपी जोशीले जानकारी दिए।
विभिन्न क्षेत्रबाट आउने दर्शनार्थी एव भक्तजनका सवारीसाधनहरुलाई सिफल चौर, गौरीघाट करिडोर, गुह्येश्वरी, तिलगंगाको पार्किङ र तिलगंगा करिडोरमा पार्किङको व्यवस्था मिलाएको छ।
यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालय भित्र कोष तथा पासवाहक सवारी साधन, गौशाला प्रहरी कार्यालय भित्र सुरक्षा निकाय तथा पासवाहक सरकारी सवारी साधन र बनकाली क्षेत्रमा अन्य अत्याबश्यक प्रयोजनका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाएको महाशाखाले जनाएको छ।
ट्राफिक महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न सक्ने अवस्था नभएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा चल्ने सवारीलाई बैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको जानकारी दिए।
उनले तिनकुनेबाट सिनामंगल तिलगंगातर्फ, चाबहिलबाट गौशालातर्फ र बागमति करिडोरबाट गौरिघाट र तिलगंगा क्षेत्र भई चल्ने मालबाहक सवारी साधनहरुलाई सो खण्डमा निषेध गरि डाइभर्सनको प्रबन्ध मिलाइनेसमेत बताए।
महाशिवरात्रि पर्व अवधिभरको ट्राफिक व्यवस्थापनलाई व्यबस्थित एव प्रभावकारी बनाउन करिब ९ सय ट्राफिक प्रहरी परिचालन हुनेसमेत जानकारी दिए।
ट्राफिक महाशाखाले पशुपतिनाथको मन्दिर दर्शन गर्न आउने दर्शनार्थीबाहेक चाबहिल, गौशाला, तिलगंगा हुँदै अन्यत्र जाने सवारीसाधनहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्नसमेत अनुरोध गरेको छ।









![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)