Kathmandu Press

एमसीसी पारितपछि अमेरिकाले भन्यो, 'अमेरिका-नेपाल सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो छ'

काठमाडौं, फागुन १६ : प्रतिनिधिसभाबाट अमेरिकी सहायता परियोजना एमसीसी पारित भएपछि अमेरिकाले अब कार्यान्वयनको बाटो खुलेको जनाएको छ।प्रतिनिधिसभाले आइतबार एमसीसी सम्झौता अनुमोदन गरेको...
एमसीसी पारितपछि अमेरिकाले भन्यो, 'अमेरिका-नेपाल सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो छ'

काठमाडौं, फागुन १६ : प्रतिनिधिसभाबाट अमेरिकी सहायता परियोजना एमसीसी पारित भएपछि अमेरिकाले अब कार्यान्वयनको बाटो खुलेको जनाएको छ।

प्रतिनिधिसभाले आइतबार एमसीसी सम्झौता अनुमोदन गरेको छ। त्यसलगत्तै काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरेको हो।

विज्ञप्तिमा भनिएको छ, 'अमेरिका र नेपालबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो छ। हामी नेपाल र नेपालको लोकतान्त्रिक मूल्यमान्यता तथा दीर्घकालीन आर्थिक समृद्धिलाई निरन्तर रूपमा समर्थन गर्नेछौँ।'

यो सम्झौता अनुमोदन गर्ने वा नगर्ने नेपालमै निर्भर रहेको जनाउँदै अब कार्यान्वनको बाटो खुलेको उल्लेख गरेको छ। '५० करोड अमेरिकी डलरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को नेपाल कम्प्याक्टलाई अनुमोदन गर्ने या नगर्ने भन्ने निर्णय सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सधैँ नेपाल सरकारको हातमा थियो,' अमेरिकाले भनेको छ, 'अब यस पाँच वर्षीय कार्यक्रमको कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको छ।'

यसले रोजगारी सिर्जना गर्नेसँगै ढुवानीको खर्च घट्ने जनाएको छ। 'हस्ताक्षरित प्रतिबद्धतालाई पूरा गर्दै कम्प्याक्टलाई अनुमोदन गर्ने संसद्‌को आजको निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनेछ, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनेछ र ढुवानीको खर्च घट्नेछ,' विज्ञप्तिमा भनिएको छ।

नेपाल र अमेरिकाबीचको सम्बन्धको स्मरण गर्दै अमेरिकी सहयोग निरन्तर जारी रहने जनाइएको छ। 'यो वर्ष नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औँ वर्ष हो। यी ७५ वर्षमा नेपालमा विशाल र अपत्यारिला परिवर्तनहरू भएका छन्', अमेरिकाले भनेको छ, 'यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौँ र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौँ।'

प्रकाशित मिति: ०८:०७ बजे, सोमबार, फागुन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्