पूर्वप्रधानमन्त्रीहरुलाई बाबुरामको प्रश्न– एमसिसी राष्ट्रघात भए किन आँखा चिम्लेर सम्झौता गर्नुभयो ?
भट्टराईले अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता गर्ने र अगाडि बढाउन पहल गर्ने सम्पूर्ण पूर्वप्रधानमन्त्रीहरुले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन्।काठमाडौं, फागुन १५ : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता गर्ने र अगाडि बढाउन पहल गर्ने सम्पूर्ण पूर्वप्रधानमन्त्रीहरुले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन्।
प्रतिनिधि सभा बैठकमा एमसिसी बारे सैद्धान्तिक छलफलमा भाग लिँदै डा भट्टराईले एमसिसीमा आपत्ति मान्नुपर्ने कुनैपनि विषय नरहेको बताएका छन्। उनले एमसिसी सम्झौता देखि विभिन्न चरणमा अगाडि बढाउन सबै दलका नेताहरुको भूमिका रहेका कारण यसको विरोध गर्नुको औचित्य नरहेको बताएका छन्।
उनले आफ्नो पालामा एमसिसी आएको भएपनि सम्झौता भने नगरेको दाबी गरेका छन्। उनले एमसिसी आफ्नो पालामा आएको हुनाले त्यससँग सम्बन्धिन नैतिक जिम्मेवारी लिनपनि आफू तयार रहेको बताए। विभिन्न चरणमा एमसिसीलाई अगाडि बढाउने सबै पूर्वप्रधानमन्त्रीहरुले पनि नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन्।
एमसिसी कुनैपनि हिसाबमा राष्ट्रघात नहुने डा भट्टराईको दाबी छ। ‘राष्ट्रघात हो भने किन आँखा चिम्लेर सम्झौता गर्नुभयो ?’ पूर्वप्रधानमन्त्रीलाइ उनकाे प्रश्न छ।
उनले आफ्ना कमजोरीहरुका कारण जनतामाझ जान नसकेपछि एमसिसीलाई अनावश्यक रुपमा गिजोलेर जनतामा भ्रम सिर्जना गरिएको आरोप लगाएका छन्। एमसिसी सम्झौतादेखि विभिन्न चरणमा पुर्याउने पूर्वप्रधानमन्त्रीहरु नै अहिले निर्लज्ज भएर उफ्रिरहेको आरोप लगाएका छन्।
उनले मुलुकको भूराजनीतिक अवस्था र विश्वको बदलिँदो भूराजनीतिका कारण एमसिसीलाई हतियार बनाइएको उनको धारणा छ।
पछिल्लो समय माओवादी केन्द्र र एकिकृत समाजवादी सहमतिमा आएकोप्रति डा. भट्टराईले स्वागत गरेका छन्। गठबन्धन दलका नेताहरुले एमसिसी व्याख्यात्मक टिप्पणी गरेर अनुमोदन गर्ने निर्णयप्रति डा. भट्टराईले खुशी व्यक्त गरेका छन्। ‘ढिलै भएपनि उहाँहरुको वुद्धी पलायो, यसमा खुशी नै छु,’ उनले भने।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)