Kathmandu Press

प्रधानमन्त्री देउवा बालकोट नजाने

काठमाडौं, फागुन १४ : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा बालकोट नजाने भएका छन्।यसअघि उनी प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न...
प्रधानमन्त्री देउवा बालकोट नजाने

काठमाडौं, फागुन १४ : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा बालकोट नजाने भएका छन्।

यसअघि उनी प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट जाने बताइएको थियो। यद्यपि कांग्रेसका अन्य नेताहरू भने बालकोटमा पुगेर एमाले नेताहरूसँग छलफलमा जुटेका छन्।

कांग्रेसका अन्य नेताहरू छलफलमा जुटिरहेकाले प्रधानमन्त्री देउवा बालकोट नजाने भएको उनका स्वकीय सचिव भानु देउवाले काठमाडौं प्रेसलाई जानकारी दिए।

सुरुमा दिउँसो ३ बजे देउवा–ओली भेट्ने भनिएको थियो। कांग्रेस नेताहरूको आन्तरिक छलफल चलिरहेकाले भेट ५ बजेलाई सारिएको थियो। तर सञ्चारमन्त्री  ज्ञानेन्द्रबहादुर कार्कीलगायत केही कांग्रेस नेता अगाडि नै बालकोट पुगेर एमाले नेताहरुसँग छलफलमा सहभागी भएका थिए।

नेताहरूकाे छलफल जारी नै रहेकाले देउवा बालकोट नजाने निष्कर्षमा पुगेको बुझिएको छ। 

शुक्रबार साँझ ओलीलाई भेट्न कांग्रेस नेताहरूसहित प्रधानमन्त्री देउवा बालकोट पुगेका थिए। सो छलफलमा देउवाले सहमतिमा एसिसी पारित गर्न प्रस्ताव राखेका थिए। एमाले अध्यक्ष पुरानै अडान दोहोर्‍याएका थिए।

संसदमा गत आइतबार टेबुल गरिएको एमसिसी पारित गर्न सत्तारुढ गठबन्धनका दलहरुबाट असहयोग हुने देखिएपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल थालेका हुन्।

यसअघि पनि एमसिसीबारे एमालेसँग पटकपटक छलफल भइसके पनि निष्कर्ष अझै निस्केकाे छैन।

एमालेले आफू अन्यायमा परेको भन्दै आफ्ना माग पूरा नभएसम्म एमसिसी अनुमोदन प्रक्रियामा सहभागी हुन नसक्ने जनाउँदै आएको छ। पार्टी कारबाहीमा परेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने या सभामुखले मार्गप्रशस्त गर्नुपर्ने अडान एमालेको छ। 

एमसिसीमाथि सैद्धान्तिक छलफल गर्न भन्दै कार्यसूचीसमेत बनिसकेको अवस्थामा दुईपटक संसद बैठक बस्दै नबसी स्थगित भइसकेको छ। अर्को बैठक भाेलि बस्दैछ।

 

प्रकाशित मिति: १८:३० बजे, शनिबार, फागुन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्