Kathmandu Press

कांग्रेस नेताहरू बालकोटमा, प्रधानमन्त्री साँझ ५ बजे पुग्ने

एमाले अध्यक्ष ओलीका प्रेस सल्लाहकार रामशरण बजगाईंले आज (शनिबार) साँझ ५ बजे प्रधानमन्त्री देउवा बालकोट आइपुग्ने जानकारी दिए।
कांग्रेस नेताहरू बालकोटमा, प्रधानमन्त्री साँझ ५ बजे पुग्ने
फाइल तस्बिर

काठमाडाैं, फागुन १४ : प्रधानमन्त्री शेरबहादुर देउवा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न आज (शनिबार) साँझ ५ बालकोट जाने भएका छन्। 

एमाले अध्यक्ष ओलीका प्रेस सल्लाहकार रामशरण बजगाईंले आज (शनिबार) साँझ ५ बजे प्रधानमन्त्री देउवा बालकोट आइपुग्ने जानकारी दिए। उनका अनुसार कांग्रेसका अन्य नेताहरू भने बालकोट पुगिसकेका छन्। सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत नेता बालकोट पुगिसकेका छन्।

बालकोट जानुअघि कांग्रेस नेताहरूले आन्तिरक छलफल गरेका थिए। एमसिसी सम्झौताको विषय निर्णायक मोडमा आइपुगेकाले प्रधानमन्त्री देउवाले अन्य पार्टीहरूसँगको छलफललाई पनि तीव्रता दिएका छन्।

शुक्रबार साँझ पनि ओलीलाई भेट्न कांग्रेस नेताहरूसहित प्रधानमन्त्री देउवा बालकोट पुगेका थिए। सो छलफलमा देउवाले सहमतिमा एसिसी पारित गर्न प्रस्ताव राखेका थिए। एमाले अध्यक्ष पुरानै  अडान दोहोर्‍याएका थिए। 

संसदमा गत आइतबार टेबुल गरिएको एमसिसी पारित गर्न सत्तारुढ गठबन्धनका दलहरुबाट असहयोग हुने देखिएपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग सहयाेग मागेका छन्। यसअघि पनि एमसिसीबारे एमालेसँग पटकपटक छलफल भइसकेकाे छ। 

एमालेले आफू अन्यायमा परेको भन्दै आफ्ना माग पूरा नभएसम्म एमसिसी अनुमोदन प्रक्रियामा सहभागी हुन नसक्ने जनाउँदै आएको छ। पार्टी कारबाहीमा परेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने या सभामुखले मार्गप्रशस्त गर्नुपर्ने अडान एमालेको छ। 

एमसिसीमाथि सैद्धान्तिक छलफल गर्न भन्दै कार्यसूचीसमेत बनिसकेको अवस्थामा दुईपटक संसद बैठक बस्दै नबसी स्थगित भइसकेको छ। अर्को बैठक १५ गते बस्दैछ। त्यसअघि नै एमसिसी पारित गर्ने वातावरण तय गर्न प्रधानमन्त्री देउवा दौडधुपमा छन्। 

 

प्रकाशित मिति: १६:१४ बजे, शनिबार, फागुन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्