एमालेले राष्ट्रहितलाई ध्यानमा राखेर एमसिसीबारे आवश्यक कदम चाल्छ : ओली
काठमाडाैं, फागुन १४ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसिसीको सन्दर्भमा एमालेले देश र जनताको हितलाई ध्यानमा राखेर आवश्यक कदम चाल्ने बताएका छन्।शनिबार...
काठमाडाैं, फागुन १४ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसिसीको सन्दर्भमा एमालेले देश र जनताको हितलाई ध्यानमा राखेर आवश्यक कदम चाल्ने बताएका छन्।
शनिबार काठमाडौंमा एमाले निकट प्रगतिशील पेशागत कानुन व्यसायी संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमसिसीका विषयमा आफूहरु तथ्यबाट निर्देशित हुने भन्दै देश र जनताको हितलाई राख्दै आवश्यक कदम चाल्ने बताएका हुन्।
उनले एमसिसीबारे संसदमा धारणा राख्न एमालेलाई ठाउँ नदिइएकाले यसबारेमा बाहिर बोल्नुको अर्थ नरहेको पनि बताए। ओलीले सभामुख अग्नि सापकोटाका कारण एमाले संसदको कारबाहीमा भाग लिन नसक्ने ठाउँमा रहेको उल्लेख गरे।
त्यस्तै उनले सत्तागठबन्धन जोगाइदिन प्रचण्ड र माधव नेपालले हारगुहार गरिरहेको र एमाले कांग्रेसको छलफलले उनीहरुको सात्तो गएको जिकिर गरे।
ओलीले सर्वोच्च अदालतमा बसेका केही न्यायाधीशहरु एमालेलाई सिध्याउन खुलेरै लागेको टिप्पणी गरे। ओलीले अमेरिकाबाट न्यायाधीश ईश्वर खतिवडाले फुल बेन्चलाई पठाएका इमेलले नै एमाले र केपी ओली सिध्याउन संविधानबाहिर गएर सरकार परिवर्तनको फैसला गरेको पुष्टि गरिसकेको तर्क गरे।
एमालेलाई चोलेन्द्र शमशेर वा अरु कुनै न्यायाधीशसँग सरोकार नरहेको समेत प्रष्ट पार्दै ओलीले लोकतन्त्रलाई सुदृढ पार्न न्यायालयको सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले प्रधानन्यायाधिश जबराविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग संसदमा निर्णयार्थ प्रस्तुत नहुने दाबी पनि गरे।
उनले गठबन्धनको ध्येय न्यायिक क्षेत्रलाई अस्तव्यस्त बनाउनु मात्र रहेको उल्लेख गरे। उनले अझै पनि निर्वाचन सार्ने खेल भइरहेको भन्दै समयमा नै निर्वाचन गर्न दबाब दिनुपर्ने र समयमा नै निर्वाचन गर्न नसके सरकारको औचित्य समाप्त हुने बताए।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)