प्रधानमन्त्रीसँग कुनै सहमति भएको छैन, संसदमा अवरोध जारी रहन्छ : एमाले
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि अवरोध कायम राख्ने भएको छ।
काठमाडौं, फागुन १२ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि अवरोध कायम राख्ने भएको छ। करिब ६ महिनादेखि संसदमा नाराबाजी गर्दै आइरहेको एमालेले आजपनि विरोध जारी राख्ने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्।
‘संसद अवरोध स्थगित गर्ने विषयमा पार्टीभित्र कुनैपनि छलफल भएको छैन,’ भट्टराईले काठमाडौं प्रेससँग भने, ‘संसदमा एमालेको भूमिका पूर्ववत् नै रहन्छ ।’ उनले एमालेले माग गर्दै आएको विषयमा छलफल गर्न सभामुख तयार नभएका कारण अवरोध जारी रहने बताए।
बिहीबार साँझ बालुवाटारमा भएको छलफलमा पनि संसद अवरोध खुलाउने विषयमा कुनैपनि सहमति नभएको भट्टराईले बताए। ‘सत्तारुढ दल र प्रतिपक्षी दलको छलफल हुनु सकारात्मक पक्ष हो,’ भट्टराईले भने, ‘जतिसुकै वार्ता र छलफल भएपनि परिणाम ननिस्किए छलफल अर्थपूर्ण रहँदैन।’
बिहीबारको छलफलपछि एमालेले संसदमा गर्दै आएको अवरोध स्थगित गर्ने चर्चा चलेपनि त्यसमा कुनै सत्यता नरहेको भट्टराईले बताएका छन्। ‘ लगातार छलफल भइरहँदा त्यसका परिणामबारे विभिन्न कोणबाट चर्चा हुनु स्वाभाविक हो, प्रधानमन्त्रीसँग एमालेले कुनैपनि सहमति गरेको छैन। हाम्रो अवरोध आजपनि जारी रहन्छ,’ उनले भने।
एमाले विभाजनका लागि सभामुखले भूमिका खेलेको भन्दै गत भदौ महिनादेखि लगातार एमालेका सांसदहरु संसदमा नाराबाजी गर्दै आइरहेका छन्। एमसिसी पास गर्नका लागि फागुन १६ गते सम्मको समय दिइएकोले प्रधानमन्त्री देउवाले एमालेलाई पनि सहमतिमा ल्याएर एमसिसीबारे निर्णय गर्ने प्रयास जारी राखेका छन्।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)