Kathmandu Press

एमसिसीको विषयमा झलनाथ देखि लिङ्देनसम्म कसले के भने?

काठमाडौं, फागुन १२ : नेकपा (एकिकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले गठबन्धनभन्दा राष्ट्रिय हित महत्वपूर्ण रहेको बताएका छन्। प्रतिनिधि सभा बैठक स्थगित भएपछि...
एमसिसीको विषयमा झलनाथ देखि लिङ्देनसम्म कसले के भने?

काठमाडौं, फागुन १२ : नेकपा (एकिकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले गठबन्धनभन्दा राष्ट्रिय हित महत्वपूर्ण रहेको बताएका छन्। प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग बोल्दै नेता खनालले गठबन्धन बन्ने र भत्किने क्रम रहिरहने बताउँदै देश र जनताको हितलाइ भने कहिल्यै नछाड्ने बताए। 

उनले एमसिसीका विषयमा गठबन्धन कुनैपनि हालतमा एक ठाउँमा नहुने बताए। ‘एकथरी एउटा महासचिवको पछाडि लागेका छन्,  अर्काथरी यो देशको स्वतन्त्रताको पक्षमा, सार्वभौमसत्ताको पक्षमा छन् । यी दुईटा कहिल्यै मिल्दैनन्,’ उनले भने।

उनले एमसिसीका विषयमा सडक आवश्यकता बमोजिम तात्ने पनि बताएका छन्।  ‘सडक आवश्यकताबमोजिम तात्छ तात्नेमात्रै होइन बल्छ पनि,’ उनले भने।  

नेकपा एमालेका नेता भीम रावलले यथास्थितीमा एमसिसी पास गर्न नहुने बताएका छन्। आफूले पहिल्यैदेखि एमसिसी राष्ट्रघाती बताउँदै आएको र अहिले पुष्टि भएको बताएका छन्। 

उनले राष्ट्रको असंलग्न नीति र पञ्चशीलको सिद्धान्तअनुसार कुनैपनि हालतमा एमसिसी पास गर्न नहुने तर्क गरे। नेकपा एमालेको नीति र अंगीकार गरेको सिद्धान्तले पनि एमसिसी पास गर्न नदिने बताए। 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि यथास्थितीमा एमसिसी पास गर्न नहुने प्रतिक्रिया दिए। ठूला दलहरुको केटाकेटिपनका कारण नेपालको परराष्ट्र नीतिमा सन्तुलन बिग्रिएको उनले बताए। उनले एमसिसी पास गरेर जनतालाई विभाजित गर्ने र नेपाललाई शक्तिराष्ट्रहरुको चलखेलस्थल बनाउने प्रस्तावको विपक्षमा रहने बताए। 

एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्ल्यांक चेक दिन नसक्ने बताए। प्रधानमन्त्रीले एमालेसँग ब्ल्यांक चेक मागेको बताउँदै भट्टराईले एमालेको माग सम्बोधन नभएसम्म कुनैपनि प्रस्ताव मान्न नसकिने बताए।  

‘गुटको संकट ल्याएर पार्टीमा थोपर्ने, पार्टीको संकट ल्याएर गठबन्धनमा थोपर्ने , गठबन्धनको संकटलाई राष्ट्रिय संकटको रुपमा देखाएर नेपाललाई भूराजनीतिको चलखेल बन्ने अखडा बनाइयो,’ उनले भने।  यसले मुलुकको अन्तर्राष्ट्रिय छवि अत्यन्तै कमजोर बनाएको पनि उनले बताए।  

उनले मुलुकको हितका लागि गठबन्धन भत्किनु आवश्यक रहेको बताए। एमसिसीको विषयमा विपक्ष भन्दा सत्तापक्षको निर्णय महत्वपूर्ण हुने भएका कारण यसबारेमा तत्काल कुनै धारणा नबनाउने उनले बताए। 


 

प्रकाशित मिति: १५:३८ बजे, बिहीबार, फागुन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्