रुसी र टर्किस राष्ट्रपतिबीच फोनवार्ता

मस्को, फागुन १२ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका टर्किस समकक्षी रिसेप तैयप एर्दोगानबीच फोनवार्ता भएको छ।
उनीहरुबीच बुधबार फोनवार्ता भएको मस्कोले जनाएको छ। उनीहरुका बीचमा पछिल्लो समयमा युक्रेनमा विकसित परिस्थितिका बारेमा कुराकानी भएको बताइएको छ।
रुस र युक्रेनका बीचमा पछिल्लो समयमा विवाद उत्पन्न भएको छ। युक्रेनको पूर्वी भागमा रुसले सेना तैनाथ गरेको छ र युक्रेनमाथि रुसले हमला गर्ने योजना बनाएको बताइएको छ।
अमेरिकासहितका पश्चिमा देशहरुले रुसले कुनै पनि बेला युक्रेनमाथि आक्रमण गर्न सक्ने बताइरहेका छन्। रुसी राष्ट्रपति पुटिन र टर्कीस राष्ट्रपति एर्दोगानबीच युक्रेनका विषयमा वार्ता केन्द्रित रहेको मस्कोले जानकारी दिएको छ।
तर यसैबीच रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेका छन्।
पुटिनले टेलिभिजन सम्बोधनका क्रममा डोनबास क्षेत्रमा विशेष सैन्य अभियान सुरु भएको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
यसैबीच राजधानी किभ, डोनेट्स्क र लहान्सक क्षेत्रमा ठूला विस्फोटको आवाज सुनिएको ती सञ्चार माध्यमहरुले जानकारी दिएका छन्। डोनेट्स्क र लुहान्सकलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिइसकेको छ।












