Kathmandu Press

एमसीसी सम्झौतामाथि आज प्रतिनिधिसभामा छलफल

काठमाडौं, फागुन १२ : आज बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामाथि छलफल हुने भएको छ।आज दिउासे १ बजे प्रतिनिधि सभाको बैठक...
एमसीसी सम्झौतामाथि आज प्रतिनिधिसभामा छलफल

काठमाडौं, फागुन १२ : आज बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामाथि छलफल हुने भएको छ।

आज दिउसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ। आजको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने सम्भाविता कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

सचिवायलका प्रवक्ता रोजनाथ पाण्डेले जारी गरेको सम्भाविता कार्यसूचीमा एमसीसी सम्झौता छलफलका लागि अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने उल्लेख छ। फागुन ८ गते अर्थमन्त्री शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता स‌ंसद्मा टेबल गरेका थिए।

प्रतिनिधिसभाको बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। त्यसमा एमसीसी सम्झौतामाथि दफाबार छलफल गर्ने वा आजै निर्णयार्थ प्रस्तुत गर्ने भन्ने तय गरिने भएको छ।

नेपाली कांग्रेसले आज बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ। कांग्रेस सचेतक पुष्पा भुसालले आफ्ना सबै सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरिएको जानकारी दिइन्।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। बुधबार काठमाडौंमा बसेको लोसपा संसदीय दलको बैठकले संसद्‌मा टेबल भएको एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको हो। लोपसपाका १३ सांसद छन्।

नेकपा (एकीकृत समाजवादी)ले यसको विपक्षमा उभिने निर्णय गरेको छ। सत्तारुढ गठबन्धनका नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा पनि यसको विपक्षमै देखिएका छन्।

जनता समाजवादी पार्टी (जसपा) पनि यसलाई पारित गर्ने पक्षमै छ। प्रमुख प्रतिपक्ष नेकपा (एमाले) भने यस विषयमा निर्णय गर्न सकेको छैन।

प्रकाशित मिति: ०७:१४ बजे, बिहीबार, फागुन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्