Kathmandu Press

अनिता र सरोजको प्रेममा बाधक बनेपछि मारिएका थिए दिनेश  

ग्रेन्डर मेसिनसहित २ थान जेब्रा झोला र केही पोलिथिन झोला किनेर अनिता र सरोज दिनेशको हत्या भएको ठाउँ पुगे । खुकुरी र ग्रेन्डर मेसिन प्रयोग गरी शवको टाउको, शरीर र खुट्टा छुट्ट्याए । टाउको र तिघ्राको भाग एउटा झोलामा र शरीर अर्को झोलामा हाले । 
अनिता र सरोजको प्रेममा बाधक बनेपछि मारिएका थिए दिनेश  
Hardik ivfHardik ivf

काठमाडौं, फागुन ११ : दश महिनाअघि बहराइन गएका इलामका ४३ वर्षीय दिनेश सिग्देल गत पुस २२ गते छुट्टीमा स्वदेश फर्किए । त्यसअघि पनि पटकपटक छुट्टीमा आउने र फर्कने गरिरहेका थिए । यसपटक १५ दिनको मात्र छुट्टी लिएर नेपाल आएका थिए, घरकी कान्छी श्रीमती अर्कैसँग लागेको खबर पाएर । यही प्रकरणमा उनको हत्या हुन पुगेको प्रहरीले जनाएको छ । 

दुई श्रीमती रहेका सिग्देल स्वदेश फर्कंदा कान्छी श्रीमती अनिता केसीसँग बस्थे । अनिता विराटनगरको पिपलचोकमा डेरा लिई बस्दै आएकी छन् । जेठी श्रीमती भने इलाममै आमाबाबुसँग बस्छिन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार, अनिताको सम्बन्ध चालक सरोज भण्डारीसँग रहेछ । उनीहरू करिब ५–६ महिना अघिदेखि नै श्रीमानश्रीमतीसरह बस्दै आएका थिए । भण्डारी विवाहित पुरुष हुन् । भण्डारीको श्रीमतीसँग राम्रो सम्बन्ध छैन । एक छोरीसहित उनकी श्रीमती माइतीमा बस्दै आएकी छन् । 

यता सरोज र अनिता बिहे गर्ने योजनामा थिए, यसमा दिनेश बाधक रहेको दुवैको ठम्याइ थियो । बहराइनमा मजदुरी गरेको पैसा अनिताले प्रेमीसँग मोजमस्तीमा उडाउँथिन् । प्रहरी अनुसन्धानबाट अनिताले आफ्ना प्रेमी भण्डारीलाई एक लाख रुपैयाँ ऋण समेत दिएको खुलेको छ । 

पुस २० गते दिनेश नेपाल आउने भएपछि सरोज र अनिताले हत्याको योजना बुने । यता २१ गते विराटनगर पुगेका दिनेश अनितालाई भेटी नोबेल अस्पताल नजिकैको फ्यामिली होटलमा बसे । 

यता दिनेशको हत्या गर्ने सम्पूर्ण योजना बनिसकेको थियो । त्यसका लागि अनिताले सरोजलाई ७५ हजार समेत दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । दिनेशको हत्यापछि सरोज र अनिता सँगै बस्ने योजनामा थिए । 

डेरामै भएको थियो दिनेशको हत्या

फ्यामिली होटलबाट २२ गते साँझ अनिता र दिनेश विराटनगरस्थित डेरा गए । उनीहरु डेरा पुगेको केही समय नबित्दै सरोज पनि त्यहाँ पुगे । सामान्य कुराकानीपछि सरोज आफैँले लगाएको गलबन्दीले दिनेशको घाँटी कसे, यसमा सरोजलाई अनिताले साथ दिइन् । घाँटी कसेर दिनेशको हत्या गरेपछि सरोज र अनिता डेराबाट बाहिरिए । दिनेशको शव कोठाभित्रै थियो । 

भोलिपल्ट बिहान स्थानीय पसलबाट ४ हजार रुपैयाँमा ग्रेन्डर मेसिनसहित २ थान जेब्रा झोला र केही पोलिथिन झोला किनेर अनिता र सरोज दिनेशको हत्या भएको ठाउँ पुगे । खुकुरी र ग्रेन्डर मेसिन प्रयोग गरी शवको टाउको, शरीर र खुट्टा छुट्ट्याए । टाउको र तिघ्राको भाग एउटा झोलामा र शरीर अर्को झोलामा हाले । 

त्यसपछि भाडामा लिएको टेम्पोमा शवका टुक्रा राखी कोसी राजमार्ग हुँदै उनीहरु धरान–भेडेटार सडकखण्डमा पर्ने आपगाछी जंगलमा पुगे र शवका टुक्रा राखेको झोला फाले । त्यस दिन दुवैजना भेडेटार बसी भोलिपल्ट मात्रै विराटनगर फिर्ता भएको प्रहरीको भनाइ छ । 

स्थानीयले शव देखेपछि घटना बाहिरियो

फागुन ४ गते बुधबारका दिन धरान–भेडेटार सडक खण्डको जेठामाने गोलाई नजिक जंगलमा घाँसदाउरा गर्न जानेले दुर्गन्धित जेब्रा झोला देखेपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले जेब्रा झोलामा टाउको र खुट्टामात्र भेटायो। भोलिपल्ट ‘डग स्निफिङ’ टोली परिचालन गरी एक किलोमिटर भित्र जेब्रा झोलामै शरीर पनि फेला पार्न प्रहरी सफल भयो। 

टाउको र शरीर भेटिएपछि शवको पहिचान गर्न प्रहरीलाई मुस्किल पर्यो। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फरेन्सिक विज्ञको टोली बोलाई शवको पहिचान खुलाउने प्रयास गरियो। 

शव पहिचानका लागि प्रहरीले तयार पारेकाे स्केच

पहिचान नखुलेपछि प्रहरीले स्केच तयार पारेर सञ्चारमाध्यम र छिमेकी जिल्ला प्रहरी कार्यालयमा पठायो। फागुन ९ गते सुरेन्द्र सिग्देल  र निर्मला सिग्देलले शवको सनाखत गरेका थिए।  सुरेन्द्र मृतकका बाबु र निर्मला जेठी श्रीमती हुन्। 

परिवारकै बयानका आधारमा कान्छी श्रीमती पक्राउ 

दिनेशका बाबु र जेठी श्रीमतीको बयानका आधारमा प्रहरीले अनितालाई पक्राउ गरेको हो। 

दिनेश कान्छी श्रीमतीसँग बस्ने सूचना पाएपछि ९ गते नै प्रहरीले अनितालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। अनिताका प्रेमी सरोज पनि सोही दिन पक्राउ परेका थिए। 

पक्राउ परेका अनिता केसी र सराेज भण्डारी

सोधपुछपछि अनिताले प्रेमीसँग मिलेर पतिको हत्या गरेको स्वीकार गरेकी हुन्। हत्याको स्वीकार गरेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले मंगलबार पत्रकार सम्मेलन गरी अभियुक्त सार्वजनिक गरेको हो।

जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद लिएर पक्राउ परेका दुबैजनाविरुद्ध थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले जानकारी दिएका छन्। 
 

प्रकाशित मिति: १९:२१ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्