Kathmandu Press

संवेदनशील भूराजनीतिक अवस्थितिका कारण निम्तिएको परिस्थितिप्रति सचेत रहन सेनालाई प्रधानमन्त्रीको आग्रह

काठमाडाैं, फागुन ११ : प्रधानमन्त्री शेरबहादुर देउवाले देशको संवेदनशील भूराजनीतिक अवस्थितिका कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले पनि देशको राजनीतिक,...
संवेदनशील भूराजनीतिक अवस्थितिका कारण निम्तिएको परिस्थितिप्रति सचेत रहन सेनालाई प्रधानमन्त्रीको आग्रह

काठमाडाैं, फागुन ११ : प्रधानमन्त्री शेरबहादुर देउवाले देशको संवेदनशील भूराजनीतिक अवस्थितिका कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले पनि देशको राजनीतिक, आर्थिक, सामाजिक तथा समग्र सुरक्षा क्षेत्रमा असर पर्ने भएकाले त्यसतर्फ सचेत रहन नेपाली सेनालाई आग्रह गरेका छन्। 

आज (बुधबार) जंगी अड्डामा सुर भएको दुई दिने ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’लाई सम्बोधन गर्दै रक्षामन्त्रीसमेत रहेका देउवाले त्यस्तो आग्रह गरेका हुन्।

प्रधानमन्त्री देउवाले मुलुकको आर्थिक विकासमा रणनीतिक महत्व राख्ने काठमाडौं-तराईमधेस द्रुतमार्गलगायत विभिन्न राष्ट्रिय सडक करिडोरहरुको निर्माणमा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा पनि गरे। ती आयोजनाहरु समयमै सम्पन्न गर्न नेपाली सेना सक्षम रहेको पनि उनले बताए।

नेपाली सेनाको पहलकदमीमा स्थापना हुन लागेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको कुशल संचालनमार्फत भविष्यमा यस क्षेत्रमा उच्चस्तरीय जनशक्ति र विशेषज्ञहरु उत्पादन हुने र नेपाली सेनाअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजना लगायत महत्वपूर्ण आयोजनाहरुको निर्माणका लागि आवश्यक पर्ने श्रोत साधनको अभाव हुन नदिने विश्वाससमेत उनले व्यक्त गरे।

उनले ‘बंकरदेखि ब्यारेक’ कार्यक्रम यथाशीघ्र सम्पन्न गरी नेपाली सेनाका सकल दर्जाका लागि उचित वातावरण सुनिश्चित गर्नसमेत सरकार प्रतिबद्ध रहेको बताएका थिए।  

सोही अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न र नेपाल सरकारका विधिसम्मत आदेशहरु अक्षरसशः पालना गर्न कटिबद्ध रहेको जानकारी गराइ।

प्राप्त जिम्मेवारी पूर्णरुपमा सम्पन्न नभएसम्म कर्तव्यपथमा अडिग रहीरहने विश्वास पनि उनले दिलाए। उनले देशमा विकसित राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने सबै प्रकारका गतिविधिहरुका सम्बन्धमा नेपाली सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गर्दै रहेको र त्यसबाट सिर्जना हुन सक्ने सुरक्षा चुनौतीहरूको सामना गर्न नेपाली सेना सदैव तयारी अवस्थामा रहेको जानकारी समेत गराए। 

समन्वयात्मक बैठकमा दौरान नेपाली सेनाका विभाग, महानिर्देशनालय, कोर र निर्देशनालयका प्रमुखहरु तथा कमाण्ड सेनापतिहरुले आआफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समीक्षा एवं सुझावहरु सहितको प्रस्तुतीकरण गर्ने कार्यक्रम छ।

यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रियापछि प्राप्त हुने रायसुझावले आगामी दिनमा नेपाली सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउने विश्वास नेपाली सेनाले लिएको जनसम्पर्क निर्देशनालयले जनाएको छ।

कार्यक्रममा जंगी अड्डाका पिएसओहरु, रथीवृन्द, सबै कमान्ड हेडक्वार्टरका कमान्ड सेनापतिलगायत विभिन्न विभाग, महानिर्देशनालय, कोर तथा निर्देशनालयका प्रमुखहरु तथा उपत्यकाभित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरुको उपस्थिति थियो। 


 

प्रकाशित मिति: १६:२० बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्