युक्रेनमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन सरकारकाे आग्रह
रूस–युक्रेनबीच बढ्दो तनावका कारण केहीदिनभित्रै युक्रेनमा आक्रमण हुने आँकलन भइरहेको बेला परराष्ट्र मन्त्रालयले सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश फर्कन र नागरिकहरुलाई तत्काल युक्रेन भ्रमण नगर्न आग्रह गरेको हो।
काठमाडौं, फागुन ११ : रूस–युक्रेन तनाव उत्कर्षमा पुग्दै गर्दा नेपाल सरकारले युक्रेनमा रहेका नेपालीहरुलाई स्वदेश फर्कन आग्रह गरेको छ।
बुधबार परराष्ट्र मन्त्रालयले सूचना जारी गरि युक्रेनको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्यांकन गरि नेपालीहरुलाई सकेसम्म चाँडै स्वदेश फर्कन आग्रह गरेको हो।
मन्त्रालयले अत्यावश्यक काम नपरी युक्रेन भ्रमण नगर्न पनि नागरिकहरुलाई आग्रह गरेको छ। ‘अति आवश्यक परी त्यहीं रहनु परेमा बाहेक उपलब्ध व्यवसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न समेत अनुरोध गरिन्छ।’
मन्त्रालयले युक्रेनमा रहेका ३८ नागरिकहरुले त्यहाँस्थित नेपाली राजदुतावासको सम्पर्कमा रहेको समेत जानकारी गराएको छ। हालसम्म त्यहाँ रहेका सबै नागरिकहरु सुरक्षित रहेको राजदुतावासलाई उद्धृत गर्दै मन्त्रालयले भनेको छ।
साथै युक्रेनमा रहेका नागरिकहरुलाई आवश्यक परेमा बर्लिनस्थित नेपाली राजदूतावासका सचिव सहारा चौलागाईँलाई सम्पर्क गर्न पनि अनुरोध गरिएको छ। युक्रेनमा रहेका नागरिकहरु दूतावासको सम्पर्कमा रहन +४९१७०९८०८०६३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
पछिल्लो समय रूस–युक्रेनबीच बढ्दो तनावका कारण दुई देशबीच युद्ध हुने आँकलन गरिएको छ। विश्वका विभिन्न मुलुकहरुले केही दिनभित्रै रूसले युक्रेनमाथि आक्रमण गर्ने चेतावनी समेत दिइसकेको छ।
यस्तो अवस्थामा त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित रहन र तत्काल स्वदेश फर्कन सरकारले आग्रह गरेको हो।










![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)

