विश्वकपमा छनोटका लागि आज यूएईसँग भिड्दै नेपाल
काठमाडौं, फागुन १० : आईसीसी टी२० विश्वकपमा छनोटका लागि आज नेपालले यूएईको सामना गर्दै छ।ओमनको अल अमेरत क्रिकेट मैदानमा आज अपराह्न ३ः४५ बजे...
काठमाडौं, फागुन १० : आईसीसी टी-२० विश्वकपमा छनोटका लागि आज नेपालले यूएईको सामना गर्दै छ।
ओमनको अल अमेरत क्रिकेट मैदानमा आज अपराह्न ३ः४५ बजे नेपाल र यूएईबीच सेमिफाइनल खेल हुनेछ। यो खेल जितेमा नेपाल टी-२० विश्वकपका लागि छनोट हुनेछ।
आईसीसी टी-२० विश्वकप अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ। यसका लागि अहिले ग्लोबल छनोट प्रतियोगिता चलिरहेको छ।
नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। सोमबार भएको समूह चरणको अन्तिम खेलमा क्यानडालाई ८ विकेटले हराएको थियो।
यूएई भने समूह 'ए' को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो। नेपालले समूह चरणका तीनै खेल जितेको छ भने यूएईले दुई खेल मात्रै जितेको छ।
त्यस्तै, आज अर्को सेमिफाइनल खेल आयरल्यान्ड र ओमानबीच हुनेछ। विजेता टोली टी-२० विश्वकपका लागि छनोट हुनेछन्।
अहिलेसम्मको प्रदर्शन राम्रो रहेको र नेपाल विश्वकपमा पुग्ने आशा रहेको नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले बताएका छन्। नेपाललाई विश्वकपमा पुर्याउन आजको खेलमा जिउज्यान लगाएर खेल्ने उनको भनाइ छ।











