संशोधन गरेर मात्र एमसिसीलाई अंगीकार गर्न सकिन्छ : गुरुङ
काठमाडौं, फागुन ९ : माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले आफ्नो पार्टीले एमसीसीको विपक्षमा मत हाल्ने स्पष्ट पारेका छन्।रिपोर्टर्स क्लब नेपालले सोमबार...
काठमाडौं, फागुन ९ : माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले आफ्नो पार्टीले एमसीसीको विपक्षमा मत हाल्ने स्पष्ट पारेका छन्।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा एमसिसीलाई लिएर आफ्नो पार्टीले दोहोरो चरित्र नदेखाउने बताए। नेता गुरुङले पार्टीले सरकारबाट बाहिरिने पनि निर्णय गरिसकेकाले अब कुन दिन बाहिरिने भन्ने मात्रै रहेको पनि बताए।
उनले एमसिसी कसैलाई पनि बलिको बोको बनाउने विषय नभएको जिकिर गरे। एमसिसीको बारेमा विगत कालदेखि नै आफूहरुले विरोध जनाएको उनको भनाई छ।
उनले आर्थिक सहायता सम्झौता सरकारले टुंगो लगाउने भएकोले एमसीसीलाई आर्थिक सहायता सम्झौताको रुपमा परिमार्जन गर्ने र संशोधन गर्न सकिने हो भने यसलाई अंगीकार गर्न सकिने पनि उल्लेख गरे।
नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालका पार्टीले अब सरकारमा बस्ने नैतिक अधिकार गुमाइसकेको बताए। उनले अमेरिकालाई नेपालमा आउन एमसीसी नचाहिने पनि टिप्पणी गरे।
नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले एमसीसी पास वा फेल जे भए पनि आफ्नो पार्टी सरकारबाट नबाहिरिने बताए। उनले एमसीसीको सवालमा सांसदहरुलाई ह्विप लगाउन नहुने पनि धारणा पनि राखे।











