कांग्रेस नेता पौडेल र जसपा अध्यक्ष यादवबीच भेटवार्ता
काठमाडाैं, फागुन ९ : कांग्रेस नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग एमसिसी सम्झौतालगायत अन्य विविध विषयमा छलफल गरेका...
काठमाडाैं, फागुन ९ : कांग्रेस नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग एमसिसी सम्झौतालगायत अन्य विविध विषयमा छलफल गरेका छन्।
आज (सोमबार) यादवलाई भेट्न सिंहदरवारस्थित जसपा संसदीय दलको कार्यालयमा पुगेका थिए। भेटका क्रममा उनले अध्यक्ष उपेन्द्रलाई एमसीसी अनुमोदनमा सघाउन आग्रह गरेका थिए।
भेटवार्तापछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले एमसिसीलाई लिएर जसपा अध्यक्ष यादवसँग कुनै सैद्धान्तिक मतभेद नदेखिएको तर केही प्राविधिक कुराहरूमा भने फरक विचार रहेको बताए। उनले एमसिसीका कारण देशको अन्तर्राष्ट्रिय सम्बन्ध र नेपालको विकासको भविष्य के हुने भन्ने विषयमा यादवसँग कुराकानी भएको जानकारी दिए।
अध्यक्ष यादवले फागुन १३ गते पार्टीको बैठक राखेर एमसिसीबारे निर्णय लिने बताएको नेता पौडेलले जानकारी दिए। एमसिसीबारे अब सडकबाट नभई सदनमा छलफल हुने नेता पौडेलको भनाइ थियो।
अध्यक्ष यादवलाई भेटेलगत्तै उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न गएका थिए।











