Kathmandu Press

अन्तुडाँडा: जहाँ पुग्दा रमाउँछन् पर्यटक

इलाम, असोज ४ : झण्डै ५० किलोमिटरको दूरीमा तराई क्षेत्रमा प्रचण्ड गर्मी हुँदा अन्तुडाँडामा भने शितलो वातावरण छ। तराईका विभिन्न भागबाट गर्मी छल्नका....

अन्तुडाँडा: जहाँ पुग्दा रमाउँछन् पर्यटक

इलाम, असोज ४ : झण्डै ५० किलोमिटरको दूरीमा तराई क्षेत्रमा प्रचण्ड गर्मी हुँदा अन्तुडाँडामा भने शितलो वातावरण छ। तराईका विभिन्न भागबाट गर्मी छल्नका साथै सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न आउने पर्यटकका कारण पछिल्ला वर्षमा अन्तुडाँडाको पहिचान नै बदलिएको छ।
    
इलामको सूर्योदय नगरपालिका–५ स्थित यो ठाउँमा पर्यटकको बढ्दो चापसँगै यतिखेर ४५ घरवास (होमस्टे) र चार पाँचवटा होटेललाई पर्यटकलाई स्वागत गर्न भ्याइनभ्याइ छ। तराई मात्र नभई नेपालका प्रसिद्ध पर्यटकीय स्थलबाट समेत पर्यटक अन्तुडाँडा पुग्ने गरेका छन्। यहाँ आउने जो कोही पर्यटकले यहाँबाट देखिने मनोरम दृश्य हेर्न लोभिने गरेका छन्।

भरतपुर महानगरपालिका–१८ घर भई विगत डेढ दशकयता पोखरा बस्दै आएका लक्ष्मण कँडेलले अन्तुडाँडा आइपुग्दा यहाँको दृश्यले आफू निकै प्रभावित भएको बताए। हरिया चिया बगान, आकर्षक देखिने सूर्योदय, वरपरका पहाडी दृश्य सबै हेर्नै पर्ने स्थल भएको उनले बताए। 

Hardik ivf

समुद्री सतहबाट करीब दुई हजार ३०० मिटर उचाइमा रहेको अन्तुडाँडामा रहेका चिटिक्क परेका चिया बगान, चिया बगानभित्रका कटेज, पोखरी, लस्करै मिलेका धुपिसल्लाका रुख यहाँका आकर्षण हुन्। पर्यटकको बढ्दो आगमनलाई लक्षित गरी होटेल तथा होमस्टेमा स्थानीयले लगानी बढाउँदै गएको स्थानीय पर्यटन व्यवसायी एवं होमस्टे एशोसिएशनका केन्द्रीय सदस्य एकराज घिमिरेले जानकारी दिए। उनका अनुसार यहाँका ४५ घरमा होमस्टे सञ्चालन गरिएको छ भने पाँच वटा होटेल रहेका छन्।
    
प्रायः वर्षभर नै पर्यटकको आगमन हुने गरेको बताउँदै उनले यहाँबाट झण्डै १५ मिनेट नाङ्गो आँखाले सूयोदय देख्न सकिने जानकारी दिए। यहाँबाट भारतको दार्जलिङ घुमपहाडलगायतका रमणीय दृश्य पनि नियाल्न सकिन्छ। श्रीअन्तु परिसरमा रहेको सुन्दर ताल पनि यहाँको अर्को आकर्षण हो। तालमा देखिने धुपी सल्लाका बोटहरू, चिया बगानको छायाँले अर्को आकर्षण थपेको छ।
    
चिसो हावापानीका कारण गर्मी छल्न र दृश्यावलोकन गर्न भारतका विभिन्न स्थानबाट पर्यटक आउने गरेको अर्का पर्यटन व्यवसायी रत्न खड्काले बताए। नेपालको पयटकीय विकासमा श्रीअन्तुले महत्वपूर्ण योगदान दिएको बताउँदै उनले प्रचारप्रसार, व्यवस्थापन र पूर्वाधार विकासमा राज्यस्तरबाटै थप पहल भएमा यो आन्तरिक तथा बाह्य पर्यटनको महत्वपूर्ण गन्तव्य बन्ने बताए। 

सूर्योदयका लागि झिसमिसेमा अन्तुडाँडा उक्लने पर्यटकलगायत तराईका समथर फाँटहरू अनि भारतीय शहरमा बलेको बत्तीको झिलिमिलीसमेतको अनुभव गर्न पाउँछन्। अन्तुले पर्यटकीयरुपमा २०४०÷४१ सालदेखि चासो र चर्चा पाए पनि देशको द्वन्द्वात्मक अवस्था पछि मात्रै गति लिएको अन्तु पर्यटन विकास समितिका अध्यक्ष धनकुमार आलेले बताए। 

विसं २०५२ देखि पेइङ गेष्टका रुपमा स्थानीयले होमस्टे शुरु गरे पनि होमस्टेका रुपमा व्यवसायले गति भने २०५७ कात्तिक २२ देखि लिएको उनले जानकारी दिए।  पोखरामा पर्यटन व्यवसायमा क्रियाशील हाइग्राउन्ड एडभेन्चर नेपालका प्रमुख सञ्चालक अधिकृत दिनेश महर्जन अन्तुडाँडाको धेरै पर्यटकीय सम्भावना रहेको बताउँछन्।

सूर्योदय हेर्नकै लागि इलामको अन्तुडाँडासहित पोखराको सराङकोट, म्याग्दीको पुन हिल पर्यटकका आकर्षण बन्दै गएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताए। रासस

प्रकाशित मिति: १०:४५ बजे, शनिबार, असोज ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्