Kathmandu Press

सप्तकोशी नगरपालिकाको कार्यालय तोडफोड

सप्तरी, फागुन ९ : तालाबन्दी गर्न सुरक्षाकर्मीले रोकेपछि प्रदर्शनकारीले सप्तरीको सप्तकोशी नगरपालिका कार्यालय तोडफोड गरेका छन्।मेयर उत्तम गौतमले विज्ञप्ति जारी गरी महिला नगर...
सप्तकोशी नगरपालिकाको कार्यालय तोडफोड

सप्तरी, फागुन ९ : तालाबन्दी गर्न सुरक्षाकर्मीले रोकेपछि प्रदर्शनकारीले सप्तरीको सप्तकोशी नगरपालिका कार्यालय तोडफोड गरेका छन्।

मेयर उत्तम गौतमले विज्ञप्ति जारी गरी महिला नगर प्रहरीमाथि हातपात र ढुङ्गामुढा गरी कार्यालयको सिसा, सवारी साधन, कम्प्युटर, डिजिटल सूचना बोर्डलगायत कार्यालयका समान तोडफोड गरेको जनाएका छन्।

कार्यालय तोडफोड गर्ने तथा जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई भौतिक चोट पुर्‍याउने घटनाप्रति नगरपालिकाले खेद व्यक्त गरेको छ। सङ्घर्षमा उत्रिएको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले बिहीबार नगरपालिकामा गरेको तालाबन्दी शुक्रबार खोलिएको थियो। फेरि तालाबन्दी गर्न खोज्दा झडप भएको हो।  

प्रदर्शनकारीले सप्तकोसी नगरपालिकाको कोरोनाको खर्च र आन्तरिक लेखा परीक्षणको विवरण, राष्ट्रिय मावि फत्तेपुरको भवन निर्माणको ठेक्का प्रक्रिया र अङ्ग्रेजी माध्यम कक्षा सञ्चालन खर्च व्यवस्थापनको विवरण उपलब्ध गराउनुपर्ने र आर्थिक वर्ष २०७८/७९ मा नगरभित्रका सम्पूर्ण ११ वटै वडाका योजना कार्यान्वयन हुनुपर्ने माग राख्दै ताला लगाएका थिए। माग सम्बोधन नगरी नगरपालिकाले आफूखुशी ताला खोलेर द्वन्द्व निम्ताएको सङ्घर्ष समितिको भनाइ छ।

मेयर गौतमले वार्ताका लागि पटकपटक बोलाए पनि नआएपछि नागरिक समाज, प्रहरी प्रशासनको रोहबरमा निर्णय गरी ताला खोलेको बताए। सेवा प्रवाह अवरोध हुँदा नागरिकलाई नै मर्का परेकाले सबैको निर्णयबाट ताला खोलिएको उनको भनाइ छ।

वार्ताबाट समाधान हुने परिस्थितीमा कार्यालयमा ढुङ्गामुडा गरी नियोजितरुपमा क्षति पु¥याउनु र जनप्रतिनिधि र कर्मचारीमाथि भौतिक चोट पुर्‍याउनु निन्दनीय भएको उनले बताए।

प्रकाशित मिति: ०६:३८ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्