समयमै एमसिसी संसदमा नल्याउँदा जटिलता उत्पन्न भयाे : ओली
काठमाडाैं, फागुन ८ : प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले समयमै एमसिसी संसदमा नल्याउँदा जटिलता उत्पन्न भएकाे बताएका छन्।
आइतबारको संसद बैठकपछि सांसदहरूसँगको अन्तरक्रियामा उनले एमसिसीबारे पहिल्यै निर्णय गरेको भए अहिलेको अवस्था नआउने बताए।
उनले एमिससी अनुमाेदनमा ढिलाइ हुँदा नेपाल देशीविदेशी शक्तिहरूको क्रीडास्थल बनेकोसमेत बताए। ‘विदेशीको क्रीडास्थल भएपछि बल्ल एमसिसी संसद्मा आयो। अमेरिका, चीन बोल्नुपर्ने अवस्थामा आयो,’ ओलीलाई उद्धृत गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘एमसीसीको पहिले नै निर्णय गरेको भए अहिलेको अवस्था आउने थिएन।’
उनले एमसिसी ल्याउन ढिलाइ गर्दा अहिले सडकमा आन्दोलन, प्रदर्शनलगायत गतिविधि देखिएको उनको भनाइ थियो।
प्रमुख सचेतक भट्टराईका अनुसार पछिल्लो परिस्थितबारे सांसदहरुले ओलीलाई जानकारी गराएका थिए। ओलीले आफ्ना माग पूरा नभएसम्म संसद अवरोध निरन्तर रहने बताएका थिए।
पार्टीले कारबाही सिफारिस गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्नुपर्ने माग एमालेले राख्दै आएको छ।











