Kathmandu Press

एमसिसीबारे नबुझी प्रदर्शन नगर्न कांग्रेस महामन्त्री शर्माको आग्रह

काठमाडौं, फागुन ८ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे नबुझी विरोधमा नउत्रन आग्रह गरेका छन्। झापाको विर्तामोडमा सिके प्रसाईंको २८औँ स्मृति...
एमसिसीबारे नबुझी प्रदर्शन नगर्न कांग्रेस महामन्त्री शर्माको आग्रह

काठमाडौं, फागुन ८ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे नबुझी विरोधमा नउत्रन आग्रह गरेका छन्। 

झापाको विर्तामोडमा सिके प्रसाईंको २८औँ स्मृति दिवसमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले सरकारमा हुँदा होस् वा नहुँदा पनि एमसिसीबारे स्पस्ट धारणा राख्दै आएको बताए। सिके चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा एमसिसीलाई अहिले राष्ट्रघातको रूपमा हेरिए पनि २० वर्षपछि राष्ट्रिय आम्दानीको दर्विलो स्रोत हुने दाबी गर्दै शर्माले भने, ‘एमसिसीको सहयोगबाट बिजुली उत्पादन र ट्रान्समिसन लाइन बन्ने हो । ट्रान्समिसन लाइनबाट भारतलाई बिजुली बेच्ने हो । तसर्थ भारतको समर्थन खोजिएको हो।’ 

उनले नेपाल चीन र अमेरिका कुनै पनि राष्ट्रको पक्षमा नउभिने स्पष्ट पार्दै सबै देशको लगानीलाई स्वागत गर्ने बताएका छन्। उनले सैन्य रणनीति बाहेकका सबै मुलुकको सहयोग स्वीकार गर्ने स्पष्ट पारे । ‘बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा निवेदन हालेर एमसिसीको प्रक्रिया अघि बढेको हो,’ शर्माले भने, ‘प्रक्रिया अघि बढाउँदा भीम रावल र नारायणकाजी श्रेष्ठ पनि सरकारमा हुनुहुन्थ्यो । अहिले त्यसको विरोध किन ? रावल र श्रेष्ठलाई म चुनौती दिन चाहन्छु, तपाईंहरू सरकारमा हुँदा प्रक्रिया अघि नबढेको भए म पद त्याग्न तयार छु । तपाईंहरू तयार हुनुहुन्छ ?’

उनले देशको समृद्धि र विकास लागि सिके प्रसाईंको शालिनता र सिद्धान्तप्रतिको निष्ठालाई अवलम्बन गर्नुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: १७:२४ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्