एमसिसीलाई कार्यसूचीमा राखिनु आपत्तिजनक : माओवादी केन्द्र
काठमाडौं, फागुन ८ : नेकपा माओवादी केन्द्रले अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसीलाई प्रतिनिधि सभा बैठकको कार्यसूचीमा राखिएको प्रति आपत्ती जनाएको छ। प्रतिनिधि सभाको...
काठमाडौं, फागुन ८ : नेकपा माओवादी केन्द्रले अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसीलाई प्रतिनिधि सभा बैठकको कार्यसूचीमा राखिएको प्रति आपत्ती जनाएको छ।
प्रतिनिधि सभाको आइतबार जारी बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले राज्यसञ्चालनका लागि आवश्यक ४२ वटा विधेयकहरु संसदमा विचाराधिन अवस्थामा रहेकोमा एमसिसीलाई मात्र प्राथमिकता दिएर कार्यसूचीमा राखिनु आपत्तीजनक रहेको बताएका छन्। उनले यस विषयमा माओवादी केन्द्रको गम्भीर ध्यानाकर्षण समेत भएको बताएका छन्।
एमसिसी परियोजनामा राष्ट्रिय हित प्रतिकुल हुने विभिन्न प्रावधानहरु रहेका कारण यसलाई परिमार्जन नगरी संसदमा टेबुल गर्न नहुने पक्षमा माओवादी केन्द्र रहेको उनले बताए । सोही बमोजिम प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बेठकमा आफूहरुले लिखित असहमतिपत्र बुझाएको पनि उनले बताए ।
कुनैपनि सन्धी सम्झौतालाई भित्र्याउनका लागि संसदबाट पास गर्नुपर्ने इतिहास नरहेको समेत उनले बताए । ‘हालसम्म भएका विभिन्न सन्धी सम्झौताहरुलाई संसदबाट अनुमोदन गराउनुपर्ने परम्परा छैन,’ उनले भने।
उनले सदन खुलाएर मात्रै यसबारेमा छलफल गराउन पनि सभामुख र सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिपक्षी दल एमालेले संसदमा अवरोध जारी गरेकै अवस्थामा एमसिसीबारे छलफल चलाउन नहुने उनको तर्क थियो।
‘कार्यसूचीमा राख्ने विषयमा पनि विगतकालको सामान्य मान्यता भन्दा फरक र विशिष्ट खालको विषय भएको कारण यसमा राष्ट्रिय सहमति जुट्नुपर्छ भनेका हौं,’ उनले भने, ‘दलहरुको बीचमा सहमति जुट्नुपर्छ भनिएको हो। सहमति जुटेन सहमति नजुट्दै जसरी टेबल भएको छ यसमा हाम्रो गम्भीर आपत्ती छ।’











