एमालेको अवरोधबीच संसदमा एमसिसी टेबुल
अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी टेबुल गरेका हुन्।
काठमाडाैं, फागुन ८ : एमालेका संसादहरुको अवरोधकबीच आज (आइतबार) को प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसिसी) सम्झौतासम्बन्धी प्रस्ताव टेबुल गरिएको छ।
अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा अनुमोदनका लागि एमसिसी टेबुल गरेका हुन्।
एमसीसी सम्झौता सदनमा टेबुल गर्दै सञ्चारमन्त्री कार्कीले सो सम्झौताले नेपालमा प्रसारण लाइन निर्माण भइ मुलुकमा उत्पादित विद्युतको व्यापारमा सहज हुने बताए।
एमसीसी अनुदानबाट प्राप्त सहयोगले पाँच वर्षभित्रै आयोजनाहरू सम्पन्न हुने भन्दै मन्त्री कार्कीले सबै नेपालीले आयोजनालाई राष्ट्रिय गौरवका रूपमा ग्रहण गर्नुपर्ने बताए।
संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच सहमति हुन नसक्दा संसद् सचिवालयमा दर्ता भए पनि सो सम्झौता संसदमा टेबुल हुन सकेको थिएन।
एमसिसी सम्झौतालाई टेबुल गर्न सत्ता साझेदार दलहरु आज मात्रै सहमतिमा पुगेका थिए। एमसिसी सम्झौता संसदमा टेबुल गर्न सत्ता गठबन्धनका दलहरुबीच सहमति भएपछि कार्यव्यवस्था समितिको बैठकले त्यसलाई अगाडि बढाउने निर्णय गरेको हो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ माघ २५ गते सो अनुदान सम्झौता अनुमोदनका लागि संसदमा पेस गर्न स्वीकृति दिएको थियो।
तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले एमसिसी सम्झौता संसद्को साधारण बहुमतबाट अनुमोदन गर्न २०७६ असार ३० गते संसद्मा पेस गरेका थिए।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले एमसिसी संसदमा टेबुल गर्ने सहमति गरेका थिए।











