एमसिसी कार्यसूचीमा राखियो, माओवादीले सभामुखलाई बुझायो लिखित असहमतिपत्र
बैठकले संसदमा एमसिसी टेबुल गर्ने कार्यसूची राखेको माओवादी केन्द्रकी सांसद जयपूरी घर्तीले काठमाडौं प्रेसलाई जानकारी दिएकी छन् ।
काठमाडौं, फागुन ८ : प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ। एमसिसीलाई संसदमा टेबुल गर्न गठबन्धन दलको सहमति जुटेपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक केहीबेर अघि सकिएको हो।
बैठकले एमसिसीलाइ प्रतिनिधि सभा बैठककाे कार्यसूचीमा राखिएकाे माओवादी केन्द्रकी सांसद जयपूरी घर्तीले काठमाडौं प्रेसलाई जानकारी दिएकी छन् । उनका अनुसार एमसिसी संसदमा टेबल गर्ने विषयमा अन्य दलहरु सहमत भएपनि माओवादी केन्द्रले भने असहमति जनाएको छ।
संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, सचेतक रेखा शर्मा र आफूले सभामुखलाई संयुक्त पत्र लेख्दै एमसीसी टेबुल गर्ने विषयमा गम्भीर असहमति जनाएकाे उनले बताइन् ।‘एमसिसी संसदमा टेबुल गर्ने विषयमा हामीले लिखित असहमति पत्र बुझाएका छौं,’ घर्तिले काठमाडौं प्रेससँग भनिन्।
उनले संसदमा एमाले अवरोध जारी रहेको र एमसिसीबारे राष्ट्रिय सहमति आवश्यक रहेका कारण तत्काल एमसिसी टेबल गर्न नहुने माओवादी केन्द्रको धारणा रहेको र सोही अनुसारको लिखित पत्र सभामुखलाई बुझाइएको बताइन्।











