एमसीसीबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै
काठमाडौं, फागुन ८ : अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताबारे छलफलल गर्न आज सत्तारुढ गठबन्धनको बैठक बस्दै छ।प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्ने सरकारका...
काठमाडौं, फागुन ८ : अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताबारे छलफलल गर्न आज सत्तारुढ गठबन्धनको बैठक बस्दै छ।
प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। उनका अनुसार आज बिहान १० बजे पाँचै दलको बैठक बस्दै छ।
एमसीसीको विषयलाई लिएर पाँचै दलबीच मतभिन्नता छ। नेपाली कांग्रेस एमसीसी पक्षमा छ भने नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा विरोध गरिरहेका छन्।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी)ले संसद्मा पेश हुन नरोक्ने तर, संशोधन भएसम्म यसको पक्षमा नउभिने जनाएको छ। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष पारित गर्ने पक्षमा छ भने अध्यक्ष उपेन्द्र यादव पक्ष पारित गर्न नहुने पक्षमा देखिएको छ।
प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले भने यसको विषयमा कुनै निर्णय गर्न सकेको छैन। यस विषयमा निर्णय गर्ने जिम्मामा शीर्ष नेताहरुलाई दिएको छ।
आज बस्ने गठबन्धनको बैठकले निकास दिने गरी निर्णय गर्ने जनाइएको छ। आजै दिउसो १ बजे प्रतिनिधिसभाको बैठक पनि बस्न लागेको छ।











