Kathmandu Press

तेस्रो लिङ्गी तथा समलिङ्गी समुदायका नागरिकको आपत्ति

तेस्रो लिङ्गी तथा समलिङ्गी समुदायका नागरिकको आपत्ति

काठमाडाैं, फागुन ७ : राष्ट्रिय जनगणना २०७८ ले आफूहरुलाई नसमेटेको भन्दै सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (तेस्रो लिङ्गी तथा समलिङ्गी) समुदायका नागरिकले आपत्ति जनाएका छन्।

झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै पछिल्लो जनगणनामा नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको भए पनि आफूहरु नसमेटिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन्। सरकारले सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका नागरिकलाई नागरिक सरहको व्यवहार नगरेको भन्दै सरकारसँग उनीहरुले ११ बुँदे मागसमेत अघि सारेका छन्।

Hardik ivf

सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (तेस्रो लिङ्गी तथा समलिङ्गी) समुदायका नागरिकले आफ्ना ११ बुँदे माग सम्बोधनका लागि सरकार तथा राजनीतिक दलको ध्यानाकर्षण गराएका छन्। सम्वाद समूह झापाको संयोजनमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको संस्था लीड नेपालकी नुमा सुब्बा चञ्चलाले आफ्नो समुदायका समस्या सम्बोधनका लागि तीनै तहका सरकार र राजनीतिक दललाई आग्रह गरे।

उनले समस्या समाधानमा पहल गरिदिन अधिकारकर्मी, नागरिक समाज, विभिन्न सङ्घसंस्था तथा निजी क्षेत्रको पनि ध्यानाकर्षण गराएका छन। सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका नागरिकले अघि सारेका ११ बुँदे मागमा सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमाथि हुने सबै खाले विभेदको अन्त्य गरी महिला, पुरुषसरह सम्मानजनक रुपमा बाँच्न पाउने संवैधानिक अधिकार व्यवहारमा सुनिश्चित गरिनु पर्ने, लुकेर बसेका सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई आफ्नो अस्तित्व र पहिचान दिलाएर स्वतन्त्र जीवन जीउन सक्ने वातावरण सिर्जना गरिनुपर्ने रहेका छन्।

विद्यालयमा हुने विभेद र अपमान अन्त्य गरी अन्य विद्यार्थी सरह सम्मानजनक रुपमा पठनपाठनका लागि व्यवस्था गरिनुपर्नेलगायत मागअघि सारिएको छ। नेपाल सरकार स्वास्थ्य बीमा बोर्डबाट गरिँदै आएको स्वास्थ्य बीमा कार्यक्रमबाट सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका नागरिक बञ्चित रहँदै आएकाले तत्काल स्वास्थ्य बीमा कार्यक्रममा समावेश गर्ने व्यवस्था मिलाउन सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको संस्था उनले माग गरे।

झापामा मात्रै करिब १८ देखि २० हजारको सङ्ख्यामा सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक रहेको लीड नेपालकी कार्यक्रम संयोजक चञ्चलाले बताए। देशभर आठ लाखको सङ्ख्यामा सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सम्पर्कमा रहेको र यो सङ्ख्या कैयौँ गुणा बढी रहेको नीलहिरा समाजकी आनिक राना मगर बताउछन। 'यतिका सङ्ख्यामा हाम्रो उपस्थिति रहँदारहँदै पनि सरकारले हामीलाई जनगणनामा समावेश गर्न नसक्नु हाम्रो दुर्भाग्य हो,' मगरले भने।

पत्रकार सम्मेलनमा केही समय अघि समलिङ्गी विवाह गरेका झापा बुद्धशान्तिका अनिल कोइराला र मेचीनगरका सुरज खत्रीले उमेर पुगेर मन मिलेर विवाह गरे पनि आफूहरुलाई परिवार र समाजले साथ नदिएको दुःखेसो पोखे।

नव विवाहित समलिङ्गी जोडीले आफ्नो जोडीलाई परिवार र समाजले साथ दिनुपर्ने बताएका थिए। हाल आफूहरु विभेद र हिंसाको शिकार भएको उनीहरुको भनाइ थियो।

प्रकाशित मिति: १८:५९ बजे, शनिबार, फागुन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्