Kathmandu Press

एमसिसी यथास्थितिमा पारित हुन नदिने तर टेबुल गर्न नराेक्ने एकीकृत समाजवादीकाे निर्णय

काठमाडाैं, फागुन ७ : नेकपा (एकीकृत समाजवादी) ले एमसीसी सम्झौता यथास्थितिमा पारित हुन नसक्ने निर्णय गरेको छ। तर समझदारीमा संसदमा टेबल गरिए कुनै...
एमसिसी यथास्थितिमा पारित हुन नदिने तर टेबुल गर्न नराेक्ने एकीकृत समाजवादीकाे निर्णय

काठमाडाैं, फागुन ७ : नेकपा (एकीकृत समाजवादी) ले एमसीसी सम्झौता यथास्थितिमा पारित हुन नसक्ने निर्णय गरेको छ। तर समझदारीमा संसदमा टेबल गरिए कुनै आपत्ति नहुने पनि साे पार्टीले बताएको छ।

एकीकृत समाजवादीको आज (शनिबार) नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको स्थायी कमिटी बैठक बैठकको निर्णय सुनाउँदै पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले त्यस्तो जानकारी दिएका हुन्।

पार्टीको १२औं बैठकमा वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा प्रमेश हमाल, जिय पौडेल र जगन्नाथ खनाल सदस्य रहनेगरी एमसिसीबारे अध्ययन गर्न बनाइएको कार्यदलले १४औं बैठकमा पेस गरेको रिपोर्टमा केन्द्रित भएर छलफल गरेको उनले बताए। स्थायी कमिटी सदस्यहरुबचिको छलफलपछि यथास्थितिमा एमसिसी पारित गर्न सकिँदैन भन्ने निर्णय बैठकले सर्वसम्मत रुपमा गरेको उनले बताए। 

यसलाई संशोधन गरेर मात्रै पारित गर्न सकिने धारणा पार्टीले बनाएको उनले स्पष्ट पारे। थप तथा आकस्मिक रूपमा कुनै निर्णय गर्नुपरे त्यसको सम्पूर्ण अधिकार केन्द्रीय सचिवालयलाई दिने निर्णय पनि भएको उनले बताए।    

‘नेपाली जनताको भावना, राष्ट्रिय हित र वैचारिक प्रतिबद्धताका आधारमा निर्णय गरेको ठहर हाम्रो पार्टीले गरेको छ,’ उनले भने, ‘जनताका बीचमा व्यापक बहस गर्नुपर्ने, कानुनी समस्या थुप्रै रहेका, सम्झौतामा धेरैवटा विरोधाभास रहेको र विगतमा पनि अनेकपटक संशोधन गरिएकाले फेरि पनि संशोधन गरेर, राष्ट्रिय हित अनुकूल बनाएर। मात्रै पारित गर्न सकिन्छ भन्ने हाम्रो पार्टीको धारणा रहेको छ। त्यसकारण यथास्थितिमा नो एमसिसी।’

सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले संसदमा एमसिसी टेबुल गर्न दिने कुरा आपत्तिजनक नरहेको पनि बताए। ‘आम जनताले, संसदले प्रत्येकले बहस गर्न पाउने कुरा छ। संसदमा छलफल गर्नुपर्ने भएकाले टेबुल नगरी हुँदैन। तर जबर्जस्ती टेबुल गरिनेछैन।    

‘टेबल गर्ने कुरामा हाम्रो आपत्ति छैन। संसदमा छलफल गर्न पाउनुपर्छ। केही विषय भने स्पष्ट हुनुपर्छ। जबरजस्ती टेबुल गरिनेछैन,’ उनले भने, ‘यसका लागि सहमति हुनुपर्छ। संसद्को अवरोध हट्नुपर्छ। अनि मात्र टेबल गर्ने वातावरण बन्न सक्छ।’ 

प्रकाशित मिति: १५:५५ बजे, शनिबार, फागुन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्