बालकुमारी माताको ‘मूर्तिचोर’लाई कारबाही गर्न गृहमन्त्री खाणको निर्देशन
काठमाडौं, फागुन ७ : गृहमन्त्री बालकृष्ण खाणले ललितपुर महानगरपालिका–२७ सुनाकोठीको बालुकमारी मन्दिरको बालकुमारी माताको मूर्ति चोरलाई कारबाही गर्न निर्देशन दिएका छन्। आज (शनिबार) सुनाकोठीको बालकुमारी...
काठमाडौं, फागुन ७ : गृहमन्त्री बालकृष्ण खाणले ललितपुर महानगरपालिका–२७ सुनाकोठीको बालुकमारी मन्दिरको बालकुमारी माताको मूर्ति चोरलाई कारबाही गर्न निर्देशन दिएका छन्।
आज (शनिबार) सुनाकोठीको बालकुमारी मन्दिरको चोरी भएको बालकुमारी माताको मूर्ति पुनःस्थापना, क्षमा पूजा र अनुसन्धानमा सम्लग्न पदाधिकारीलाई सम्मान कार्यक्रममा गृहमन्त्री खाणले सार्वजनिक सम्पत्तिको सुरक्षामा गतिशील भएर लाग्न ललितपुरको प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिए।
‘सार्वजनिक सम्पत्तिको खोजिनिती गर्न ललितपुर प्रहरी अझै गतिशील भएर लागोस्। मूर्ति चोरी गर्ने चोरहरु कारबाहीमा परुन्, म गृहमन्त्रालयको तर्फबाट उहाँहरूलाई निर्देशन दिन चाहन्छु,’ गृहमन्त्री खाणले भने, ‘मन्दिरको सुरक्षाका लागि मन्दिर व्यवस्थापन समितिका साथीहरूसँग बसेर ललितपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुले कार्ययोजना बनाउनुहोस्।’
उनले मूर्ति चोरी हुने वातावरण नबनोस्, भन्ने सर्तकताका लागि र आवश्यक व्यवस्थापनका लागि पनि प्रशासन र सुरक्षा निकायका पदाधिकारीलाई निर्देशन दिए।
माघ ९ गते हराएको बालकुमारी माताको मूर्ति १९ दिनपछि माघ २८ गते भेटिएको थियो। गृहमन्त्री खाणले नेपाल विविधताले भरिपूर्ण मुलुक भएको भन्दै विविधताबीच एकताका साथ अगाडि बढ्नु पर्ने बताए।
उनले भने, ‘नेपाल विविधताले भरिपूर्ण छ। जातीय विविधता, धार्मिक विविधता, सास्कृतिक विविधता, हावापानीमा विविधता नेपालमा छ । यो विविधताबीच हामी सबै एकताका साथ अगाडि बढ्नुपर्छ।’
उनले नेपालका परम्परा, रितिथिति र स्थापित मठ मन्दिरहरूले नेपालीहरूलाई सदैव एकतामा बाधेका बताए। नेपालीले आफूले अबलम्बन गर्ने धर्मप्रति पति अर्काले अबलम्बन गर्ने धर्मप्रति पनि सम्मान गर्ने क्षमता राख्ने बताए।
‘हामी आफूले अबलम्बन गर्ने धर्मप्रति पनि सम्मान प्रकट गर्दछौं। अरुले अबलम्बन गरेको धर्मका प्रति पनि हाम्रो सम्मान रहेको छ। धार्मिक सदभावलाई बचाउन र खलबलिन नदिन हामी सबै जिम्मेबार हुनुपर्छ,’ गृहमन्त्री खाणले भने।
उनले नेपाली नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको भन्दै नागरिकको अकालमा मृत्यु नहोस्, प्राकृतिक विपत्तिबाट मृत्यु नहोस् भन्नेमा सरकार सधै सतर्क र संवेदनशील रहेको बताए।
कार्यक्रममा उmर्जामन्त्री पम्फा भुसाल, ललितपुर महानगरपालिकाका पदाधिकारीसहित ललितपुरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका पदाधिकारीको उपस्थिति थियो।











