युक्रेनमा रूसी आक्रमणको निर्णय भइसकेको बाइडेनको भनाइ
वासिंङटन, फागुन ७ : अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा आक्रमण गर्ने निर्णयमा पुगेको र ‘आगामी दिनमा’ यूक्रेनी भूगोलमाथि आक्रमण हुन...
वासिंङटन, फागुन ७ : अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा आक्रमण गर्ने निर्णयमा पुगेको र ‘आगामी दिनमा’ यूक्रेनी भूगोलमाथि आक्रमण हुन सक्ने बताएका छन्।
अमेरिकी गुप्तचर निकायले दिएको गोप्य जानकारीका आधारमा आफूले उक्त निष्कर्ष निकालेको र रूसले आक्रमण गर्दा सीमा क्षेत्रका यूक्रेनी गाउँ तथा शहरमात्र निशानामा नरहने बाइडेनको भनाइ रहेको छ।
रूसको आक्रमणको निशानामा राजधानी किभ पनि पर्नसक्ने उनले बताए। यद्यपि, केही युरोपेली मुलुकहरू र अमेरिकाले भनेजस्तो रूसले आक्रमणको योजना बनाइरहेको भन्ने समाचारमा कुनै सत्यता नरहेको रूसी अधिकारीहरूले बताउँदै आएका छन्।
यूक्रेनमाथिको आक्रमण गर्ने रूसी योजना रहेको र यसलाई आफूहरूले निस्तेज पारिदिएको भनी जस लिने दाउमा केही शक्तिराष्ट्र लागिपरेको र ‘युक्रेन आक्रमणबारे’ अफबाह मात्र फैलाइरहेको रूसी अधिकारीहरूले दाबी गरेका छन्।
रुसले युक्रेनका टुक्रिएका पूर्वी क्षेत्रमा बनाबटी सङ्कटहरू खडा गरेर त्यसलाई हमला गर्ने कारणका रूपमा प्रस्तुत गर्नसक्ने भय पश्चिमा राष्ट्रहरूको छ। अमेरिकाले एक लाख ६९ हजार देखि करिब दुई लाख रुसी सैनिकहरू युक्रेन र वरपरका क्षेत्रमा भेला भइरहेको आँकलन गरेको छ।
त्यसमा पूर्वी युक्रेनका स्वघोषित डोनिएत्स्क र लुहान्स्क गणतन्त्रहरूमा तैनाथ रुसी समर्थन प्राप्त लडाकुहरूको सङ्ख्या पनि जोडिएको छ।
यसैबीच ह्वाइट हाउसबाट गरेको टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडनले रुसी फौजहरूले युक्रेनमा आगामी दिन वा हप्ताहरूमा आक्रमण गर्ने योजना बनाएको विश्वास गर्ने आधारहरू रहेको बताएका छन्।
राष्ट्रपति पुटिनप्रति सङ्केत गर्दै उनले भने, 'अहिलेको क्षणसम्म आइपुग्दा म विश्वस्त छु कि उनले त्यस्तो निर्णय गरिसकेका छन्।'
यसअघि अमेरिकी राष्ट्रपति र उनका उच्च अधिकारीहरूले यस्तो अवस्था रहे या नरहेको आफूलाई जानकारी नभएको बताउँदै आएका थिए। तर उनले रुसले अझै पनि कूटनीतिक बाटो रोज्न सक्ने र अहिले पनि तनाव कम गरेर वार्ताको टेबलमा फर्कन ढिला नभइसकेको बताए।
यसअघि शुक्रवार रूसनिकट मानिने यूक्रेनी नेताहरूले युक्रेनले गोलाबारी बढाएको र हमला गरिरहेको भन्दै स्थानीयवासीको उद्धार गर्ने घोषणा गरेका थिए।
तर, उक्त समाचारलाई युक्रेनले बारम्बार आफूले आक्रमणको कुनै योजना नबनाएको बताउँदै खण्डन गर्दै आएको छ। रुसले युक्रेनको पूर्वी डोनबास क्षेत्रमा सन् २०१४ यता सशस्त्र विद्रोहलाई समर्थन गर्दै आएको छ। त्यहाँको द्वन्द्वमा १४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।












