आज छैटौं निर्वाचन दिवस मनाइँदै

काठमाडौं, फागुन ७ : ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने मूल नाराका साथ आज छैटौँ निर्वाचन दिवस मनाइँदै छ।
नेपालमा सर्वप्रथम २०१५ फागुन ७ गते निर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको दिनको स्मरण गर्दै निर्वाचन दिवस मनाउन थालिएको हो। यस अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण मतदातालाई शुभकामना दिँदै आगामी स्थानीय तह निर्वाचनमा स्वतः स्फूर्त सक्रिय एवं उत्साहजनक रूपमा सहभागी हुन आह्वान गरेका छन्।
स्थानीय तहको निर्वाचन तीव्र तयारीकै बीचमा यसपटक निर्वाचन दिवस मनाइँदै छ। सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते शुक्रबारका दिन एकै चरणमा हुने गरी घोषणा भइसकेको छ। विसं २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो।
आयोगसँग निर्वाचन व्यवस्थापनका साढे ६ दशकभन्दा लामो सफल प्रेरणादायी अनुभव र गौरवमय इतिहास छ। मुलुकको स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, जनतामा नीहित सार्वभौमसत्ता, बालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको संवैधानिक जिम्मेवारी आयोगले प्राप्त गरेको थपलियाले उल्लेख गरेका छन्।
आयोगले निष्पक्षता, स्वतन्त्रता, व्यावसायिकता र विश्वसनियता प्रत्याभूतिसहित निर्वाचन व्यवस्थापन गर्दै आएको उनले बताएका छन्। सङ्घीय लोकतान्त्रिक गणतन्त्र, जनतामा निहित सार्वभौमसत्ता आवधिक निर्वाचन, बालिग मताधिकार र जनताको प्रतिस्पर्धात्म बहुदलीय शासन प्रणालीको जगमा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी आयोगले कुशलतापूर्वक सम्पादन गरेको जनाएका छन्।
प्रमुख आयुक्त थपलियाले आयोगको नीतिगत व्यवस्था कार्यान्वयनमा ‘निर्वाचन आयोगको नेतृत्व सवै सरोकारबालाको दायित्व’ भन्ने मूल मन्त्रालय आत्मसात गरी निर्वाचनमा सहभागी जनाउन सम्पूर्ण सरोकारवालालाई आग्रह गरेका छन्।











